पाटन प्रिमियर लिग:कस्ले जित्ला उपाधि? यस्तो छ दुबै टिमकाे रणनीति

बैतडी: बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगकाे उपाधिका भिडन्त आज हुँदैछ ।

उपाधिका लागि काेइनाेडा टिम गुरूखाेला लायन्स र पाटन भ्याली क्रिकेट क्लबबीच भिडन्त हुनेछ।

श्रीकृष्ण मावि पाटनकाे खेलमैदानमा हुने फाइनल खेल आज बिहान १० बजेदेखि शुरू हुनेछ।

दुबै टाेली च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।
लिग,सुपर सिक्स र सेमिफाइनल गरेर अविजित रहेर उपाधिनजिक पुगेकाेले गुरूखाेला सहजै रूपमा उपाधि रक्षा गर्ने याेजनामा छ। भ्याली भने घरेलु मैदान र समर्थककाे साथ सहयाेगले आफू च्याम्पियन बन्ने लक्ष्यमा छ।

सुपर सिक्समा गुरूखाेलाले भ्यालीमाथि १६८ रनकाे जित निकालेकाे थियाे । सुपर सिक्समा पनि भ्यालीलाई फराकिलाे रन अन्तरले हराएकोले गुरूखाेलाले फाइनललाई सहज मानेकाे छ। तर सुपर सिक्समा ब्यहाेरेकाे नमिठाे हारकाे बदला लिदै च्याम्पियन बन्ने दाउमा भ्याली रहेकाे छ।

उसाे त लिग चरणदेखि नै सबै टाेलीमाथि फराकिलाे जित निकाल्दै गुरूखाेलाले दबदबा राख्दै आएकाे छ।
गुरूखाेला राष्ट्रिय,नेपाल प्रिमियर लिगमा विक्री र प्रदेश प्रतियोगिता खेलिसकेका खेलाडीहरूकाे वर्चस्व रहेकाे टिम रहेकाले पनि उच्च मनाेबलका साथ मैदान देखिनेछ ।

पाटन प्रिमियर लिगकाे आयाेजकका रूपमा रहेकाे पाछन क्रिकेट क्लबले जिल्लाभन्दाबाहिरका ३ खेलाडी प्लेइङ ११ मा राख्न पाउने प्रावधान राखेकाेले गुरूखाेलाले बलियाे र ब्यालेन्सिङ टाेली बनाउन सफल भएकाे छ।

नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्समा विक्री भएका विकास आग्री,सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आएका वसन्त खत्री,प्रदीप चन्द,उमेर समूहकाे राष्ट्रिय प्रतियोगिता खेलिसकेका कल्पेश चन्द, लाेकेश चन्द,निराजन गाैतम गुरूखाेलामा रहेका छन्।

यसका साथै गुरूखाेलाबाट प्रदेशस्तरीय प्रतियोगिताकाे अनुभव बटुलेका भुपेन्द्र चन्द,आकाश चन्द ,महेश भट्ट,हर्ष कार्की लगायतका खेलाडी पनि खेल्दैछन्।

बलियाे र ब्यालेन्सिङ टिम भएकाले उपाधि जित्नेमा ढुक्क रहेका गुरूखाेलाका कप्तान वसन्त खत्रीले बताउनुभयो ।उहाँले भन्नुभयाे,” बलिङ,ब्याटिङ,फिल्डिङलगायतको सबै पक्षमा हामी मजबुत छाैं,उपाधि रक्षा गर्नेमा ढुक्क छाैं। सुपर सिक्समा पनि हामीले हराएको टाेली भ्यालीसंग फाइनल खेल्दैछाैं,सबै कमजाेर थाहा भएकाेले हामीलाई फाइदा छ। ”

यता पाटन भ्यालीका कप्तान विरेन्द्र भण्डारी भने यसअघिका सबै कमजाेरी सुधार गरेर च्याम्पियन बन्ने याेजना रहेकाे बताउनुहुन्छ। उहाँले भन्नुभयाे,”लिग चरणदेखि नै भएका कमीकमजाेरी सुधार्दै हामी उपाधि रक्षा गर्ने रणनीतिका साथ मैदान प्रवेश गर्छाै। हामीलाई घरेलु मैदान र दर्शककाे पनि साथ मिल्नेछ।”

भ्यालीमा पनि राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगिता खेलिसकेका खेलाडीकाे दबदबा छ। दीपक टमटा,राहुल भण्डारी, खगेन्द्र जाेशी,किरन चन्द,दीपेन्द्र भण्डारी,सन्दीप खत्री फाइनलमा प्रभाव राख्न सक्ने खेलाडी हुन्।
दुबै टाेली बलिया देखिएकाले फाइनल खेल निकै प्रतिस्पर्धात्मक र राेमाञ्चक हुने अनुमान गरिएको छ।

फाइनल समाराेहमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतकाे उपस्थिति रहने जनाएको छ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टाेलीकाे सहभागीता रहेको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने आयाेजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।

द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!