यू-१९ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमकाे पहिलाे जित

काठमाडौं: विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले जित हात पारेको छ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा मंगलबार सम्पन्न खेलमा सुदूरपश्चिमले पहिलो खेल खेलिरहेको कर्णालीलाई ५ विकेटले पराजित गरेको हो।

टस जितेर ब्याटिङ गरेको कर्णालीको टोली ३०.५ ओभरमा ७४ रनमा समेटिएको थियो। कर्णालीका लागि ओपनर तथा क्याप्टेन मनिष थापाले ४२ रन जोडे। बाँकी १० खेलाडीले भने दोहरो अंकको रन बनाउन सकेनन्।

यद्यपि, सुदूरपश्चिमले दिएको १३ अतिरिक्त रन कर्णालीको लागि दोस्रो बढि रन थियो। कर्णालीलाई धराशायी बनाउने क्रममा सुदूरपश्चिमका लागि म्यान अफ द म्याच भएका नरेन साउँदले ५ र अशोक धामीले २ विकेट लिए। सुदूरपश्चिमले निर्धारित लक्ष्य १८.१ ओभरमा ५ विकेटको क्षतिमा ७६ रन बनाएर पूरा गरेको थियो।

सुदूरपश्चिमका लागि नरेन भट्टले २८, युवराज खत्रीले अविजित २३ रन बनाए।

जारी प्रतियोगितामा दोस्रो खेल खेलेको सुदूरपश्चिमले पहिलो जित दर्ता गराउँदै २ अंक बनाएको छ।

पहिलो खेलमा लुम्बिनीसँग पराजित सुदूरपश्चिमको टोली अंक तालिकामा तेस्रो स्थानमा रहेको छ। अर्कोतर्फ पहिलो खेल खेलेको कर्णाली भने अंकविहीन रहेको छ।

कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!