बैतडी: मधेश प्रदेशको राजधानी जनकपुरधाममा जारि सहिद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश उपाधि नजिक पुगेकाे छ। आज सम्पन्न सेमिफाइनलमा गण्डकी प्रदेशलाई १३ रनले स्तब्ध पार्दै सुदूरपश्चिम फाइनलमा पुगेकाे हाे ।
सुदूरपश्चिमले दिएकाे १२७ रनकाे लक्ष्य पछ्याएकाे गण्डकीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रन मात्रै बनाउन सक्याे। उसका समीर कडेलले १८, कप्तान विपिन खत्रीले १६ रन बनाएपनि टाेलीलाई जिताउन सकेनन् ।
सुदूरपश्चिमका लागि विकास आग्रीले कसिलाे बलिङ गर्दै ३,नरेन साउँदले २ विकेट हात पारे।
त्यसअघि रामजानकी मैदानमा टस हारेर ब्याटिङकाे निम्ता पाएकाे सुदूरपश्चिमले २० ओभरमा ९ विकेटको क्षतिमा १२६ रन बनायाे । जसमा कप्तान बसन्त खत्रीले सर्वाधिक ३० रन बनाए। उनी खेलका म्यान अफ द म्याच पनि भए। यस्तै किरन ठगुन्नाले २८ र दिपक बाेहराले २६ रनकाे याेगदान गरे। गण्डकीका कमल परियारले २ विकेट झारे।
उपाधिका लागि अब सुदूरपश्चिमले जनकपुर-११ काे सामना गर्नेछ। फाइनल भिडन्त भाेलि हुने सुदूरपश्चिम प्रदेशका टिम व्यवस्थापक रमेश बहादुर बाेहराले जानकारी दिनुभयो।
लिग चरणबाटै अपराजित रहेकाे सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने सुदूरपश्चिमका प्रशिक्षक खेमराज भट्टले बताउनुभयाे।
बलिङ,ब्याटिङ र फिल्डिङ सबै पक्ष मजबुत रहेकाेले उपाधि रक्षा गर्ने लक्ष्य रहेकाे सुदूरपश्चिमका कप्तान बसन्त खत्रीले बताउनुभयो ।
वैशाख २० देखि २९ गतेसम्म सहिद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगितामा सात प्रदेशकाे सहभागीता रहेकाे छ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना, सहिद कप क्रिकेट कमिटीको संयोजन तथा नेपाल क्रिकेट सङ्घ (क्यान)को सहकार्यमा सञ्चालन रहेको प्रतियोगितामा सात वटा प्रदेशको क्रिकेट टिम र एउटा आयोजक टिम गरी आठवटा टिमको सहभागिता रहकाे छ।
प्रतियोगिताको विजेता टिमलाई दुई लाख एघार हजार नगद र ट्रफि र उपविजेता टिमलाई एक लाख एक हजार नगद र ट्रफि पाउनेछ ।

