बैतडी:बैतडीको पाटनमा जारी चौँथौ संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४)मा बुधबार पनि दुई खेल सम्पन्न भएका छन् ।
आज भएको पहिलो खेलमा पाटन स्टारले सिगासलाई ७ विकेटले हराएको हो भने दोस्रो खेलमा निङ्ग्लासैनीले सप्रालिलाई ६९ रनले पराजीत गरेको हो ।
आज भएको पहिलो खेलमा पाटन स्टारका बिरुद्ध सिगासले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरको समाप्तीमा ६ विकेट गुमाउदै १२८ रन बनाएको थियो । सिगासका विपिन बोहराले ३५, शृजनसिह ऐरीले २३ तथा नवराज धामीले १७ रनको योगदान गरेका थिए । पाटन स्टारका आयुष ठगुन्नाले २ विकेट लिए ।
१२९ रनको बिजय लक्ष्य पछ्याएको पाटन स्टारले १५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेट्टाएको हो । पाटनका सुर्दशन भट्टले ६१ रनको अर्धशतकिय इनिङ खेले । यस्तै बिष्णु बिष्टले ४१ रनको योगदान दिए । सिगासका अनिल ऐरीले ३ विकेट लिए ।
पाटनका सुदर्शन म्यान अफ दि म्याच चुनिए ।
आजै भएको दोश्रो खेलमा सप्रालिका विरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १९४ रन बनायो । निङग्लाशैनिका बिक्रम बोहराले ५७ रनको अर्धशतकिय इनिङ् खेले । दिपक बोहराले ३६ रनको योगदान गरे । सप्रालिका प्रकाश भाटले २ विकेट हात पारे ।
१९५ रनको विजयी लक्ष्य पछ्याएको सप्रालिले १६ दशमलव २ ओभरमा अल आउट हुँदै १२५ रन मात्रै बनाउन सक्यो । उसका लागि राजु भाटले ३६ रनको योगदान गरे । निङ्ग्लाशैनिका ऋषिकेश बोहराले ३ तथा बसन्त बोहराले २ विकेट लिए ।
निङ्ग्लाशैनिका बिक्रम बोहरा म्यान अफ द म्याच चुनिएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए । निङ्गलाशैनी क्रिकेट क्लबको मुख्य प्रायोजकमा समाजसेवी, युवा नेता भोजराज जोशी (क्वालीटी) मुख्य प्रयोजक रहेका छन् । गत वर्षको पिपिएलमा क्वालीटीले गत वर्ष २ टिमलाई सहभागिता गराएका थिए ।
आज भएको खेलमा निङ्ग्लाशैनिको पहिलो जित हो भने प्रतियोगिताबाट बाहिरीएको पाटन स्टारको सान्त्वना जित हो ।
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।
