बैतडीः देशभरजस्तै बैतडीमा पनि भिटामिन ‘ए’क्याप्सुल, जुकाको औषधि खुवाइदैछ।
यहाँका २० हजार बढी बालबालिकाहरुलाई भिटामिन ‘ए’क्याप्सुल खुवाइन लागेकाे हाे।
राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत हिजाे र आज बालबालिकाहरुलाई भिटामिन ‘ए’क्याप्सुल, जुकाको औषधी र बालभीटा खुवाउन लागिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताउनुभयाे ।
कार्यक्रम अन्तर्गत जिल्लाभरीका ६ देखि ५९ महिनासम्मका २० हजार ७१२ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’क्याप्सुल खुवाउने लक्ष्य रहेको छ।
बैतडीमा १२ देखि ५९ महिनासम्मका १८ हजार १९५जना बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको छ भने ६ महिनादेखि २३ महिनासम्मका ७ हजार ४५५ जना बालबालिकाहरुलाई बालभीटा खुवाउने लक्ष्य रहेको छ ।
बालबालिकाहरुलाई भिटामिन ‘ए’, जुकाको औषधी र बालभीटा खुवाउनका लागि जिल्लाभरी ८ सय ३१ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएका छन् भने आवश्यकता अनुसार स्वास्थ्यकर्मी समेत परिचालित रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयाे ।
गाउँघर क्लिनिक, खोपकेन्द्र, स्वास्थ्य संस्थाहरुमा बालबालिकाहरुलाई भिटामिन ‘ए’, जुकाको औषधी र बालभीटा खुवाइदैछ ।
हिजाे खुवाउन छुटेका बालबालिकालाई नजिकका गाउँघर क्लिनिक, खोप केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा आज भिटामिन ‘ए’, जुकाको औषधी र बालभिटा खुवाउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।
