बैतडी: बैतडीको पाटनमा जारी चाैथाे संस्करणको पाटन प्रिमियर लिगकाे दाेस्राे दिन आज दुई खेल सम्पन्न भएका छन्। जसमा किम्ताेली क्रिकेट क्लब र पाटन भ्याली क्रिकेट क्लब विजयी भएका छन्।
पहिलाे खेलमा किम्ताेलीले नवजागृती क्रिकेट क्लबलाई ३६ रनले हरायाे। जितका लागि १९१ रनकाे लक्ष्य पछ्याएकाे नवजागृतीले निर्धारित २० ओभरमा ८ विकेटकाे क्षतिमा १५४ रन मात्रै बनाउन सक्याे।
उसका विक्रम पाण्डेयले ८६ रनकाे पारी खेलेपनि टाेलीलाई जिताउन सकेनन्। किम्ताेलीका लागि सन्ताेष चन्दले ५ विकेट हात पारे। सन्ताेष प्लेयर अफ द म्याच समेत चुनिए।
यसअघि श्रीकृष्ण मावि पाटनकाे खेलमैदानमा पहिला ब्याटिङ गरेकाे किम्ताेलीले २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनायाे । जसमा प्रकाश बुडालले ६४ रनकाे याेगदान गरे । नवजागृतिका सचिन विकले ३ विकेट झारे।
दाेस्राे खेलमा पाटन भ्यालीले सहस्त्रीलिङ्ग क्रिकेट क्लबलाई ८ विकेटले स्तब्ध पार्याे। सहस्त्रीलिङ्गले दिएकाे १३६ रनकाे लक्ष्य भ्यालीले ११.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायाे।
जसमा राहुल भण्डारीले अविजित ५१ रनकाे पारी खेले । राहुल खेलका म्यान अफ द म्याच समेत चुनिएका स्काेरर दीपेन्द्रबहादुर बाेहराले जानकारी दिनुभयो ।
यसअघि पहिला ब्याटिङमा उत्रिएको सहस्त्रीलिङ्ग १७.४ ओभरमा १३५ रनमा समेटियाे। उसका अरूण प्रसाद दानीले ४० तथा निखिल चन्दले ३४ रन हिर्काए।
भ्यालीका सन्दीप खत्रीले ४ विकेट चट्काए।
पाटन क्रिकेट क्लबको आयोजनामा असाेज ३० गतेदेखि शुरू भएकाे प्रतियोगितामा १७ टोलीकाे सहभागीता रहेकाे छ।
प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयाे।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दाेस्राे भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्राे मेलाैली नगरपालिकाले हात पारेकाे थियो ।
