बैतडी: उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले बैतडीको दाेगडाकेदार-६ मा शुरु भएकाे तेस्रो संस्करणकाे पन्ज्युनयाँ क्रिकेट लिगकाे उद्घाटन गर्नुभएको छ। पन्ज्युनयाँ खेलमैदानमा एक समारोहबीच प्रतियोगिताकाे उद्घाटन गरिएको हाे ।
उद्घाटन समाराेहमा बाेल्दै मन्त्री भण्डारीले तीनवटै सरकारकाबीच समन्वय हुनुपर्ने बताउनुभयाे। देश विकासका लागि संघ,प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्छ । उहाँले भन्नुभयो,” राष्ट्रिय दायित्व पूरा गर्न र देश विकासका लागि तीनवटै तहका सरकारकाबीच समन्वय र सहकार्य हुनु आवश्यक छ।”
उहाँले भन्नुभयाे,”स्थानीय तहमा आउने बजेट कटाैति हुनुहुदैन्। बजेट कम हुदा विकास निर्माण र अत्यावश्यक सेवा समेत प्रभावित भएका छन्। तीनतहका सरकारकाबीचकाे सरकारकाे समन्वयबाट मात्रै राष्ट्रिय आवश्यकता पूरा हुन सक्छन् ।”
मन्त्री भण्डारीले राष्ट्रिय आवश्यकतालाई बाेध गरेर दुई ठुला पार्टी मिलेर सरकार बनेकाे दाबी गर्नुभयाे।
उहाँले भन्नुभयाे,”राष्ट्रिय दायित्य पूरा मुलधारका पार्टीहरू मिलेका हाैं।याे सरकारले मुलुकका समस्या समाधान गर्न याेजना बनाउनेछ। मुलुकले प्राप्त गरेकाे उपलब्धि संस्थागत गर्नेछ।”
याे सरकारले संविधान संसाेधनकाे लक्ष्य सम्म लिएकाेले सबै राजनीतिक दलसंग सहमति गर्ने मन्त्री भण्डारीले बताउनुभयाे।उहाँले भन्नुभयाे,” सबै दलकाे सहमतिमा संविधान संसाेधन गर्ने सरकारको याेजना छ। हामीले चालू आर्थिक वर्षको बजेट संसाेधनकाे तयारी पनि गरेका छाैं। अहिले आवश्यकतालाइ ध्यानमा राखेर बजेट संसाेधन हुन्छ।”
कृषिकाे आधुनिकिकरण गर्न ठाेस कार्यक्रम ल्याउने र
बन्द रहेका उद्योगलाई सञ्चालन गर्ने चरणमा रहेकाे मन्त्री भण्डारीले बताउनुभयाे।
उहाँले भन्नुभयाे,”दाेगडाकेदारमा रहेकाे फस्साेराइड खानीकाे अध्ययन गरेर अनुमतिपत्र दिने चरणमा छाैं।सिमेन्ट,जडिबुटी,उर्जा क्षेत्र प्राथमिकता छ। त्रिदेशिय नाकासंग जाेडिएकाे महाकाली कराेडरलाई राष्ट्रिय गाैरवका रूपमा अगाडि बढाउछाैं।”
खेलकुदकाे माध्यमबाट देश चिनिएकाेले ग्रामिण क्षेत्रमा हुने प्रतियोगिताले खेलाडी उत्पादनमा सहयाेग पुग्ने मन्त्री भण्डारीले बताउनुभयो ।
यस्तै उद्घाटन समारोह बाेल्दै दाेगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले संघीय संरचना बलियाे बनाउन स्थानीय तह बलियाे हुनुपर्ने बताउनुभयाे।
एक वडा एक खेलमैदान निर्माणकाे अवधारणा ल्याएकाे बताउदै अध्यक्ष कार्कीले बजेट अभावमा पूर्णता पाउन नसकेकाे बताउनुभयो ।
शुसितम युवा क्लबकाे आयाेजना र दाेगडाकेदार गाउँपालिकाकाे प्रायाेजनमा शुरू भएकाे प्रतियोगितामा १९ टाेलीकाे सहभागीता रहेकाे छ।
प्रतियोगिताकाे विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।
यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।
यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।
प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ ।
यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।
