बैतडी:गाउँघर,सहरबजार जताततै दशैंकाे राैनकता छाएकाे छ। घरबाहिर रहेकाहरू पनि दशैं मनाउन भनेर घर फर्किसकेका छन्। तर बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुका महिलालाई दशैं लागेकाे छैन्।
यहाँका महिलाहरू दशैं शुरू भएपनि खर काट्ने चटारोमा छन्।
यहाँका महिलाका लागि यो समय भनेको खर भित्र्याउने समय भएकाले उनीहरू खर काट्नमै व्यस्त हुन्छन्‚ दशैँको रमझममा रमाउन पाउँदैनन्।
खर काट्न एकाबिहान उज्यालो नहुँदै घरबाट निस्किने र राति मात्रै घर फर्किने यहाँका महिलाहरूको यतिवेलाको दैनिकी हो।
हिउँदमा गाईवस्तुहरुलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलन अनुसार खर काट्ने चटारो बढेको दाेगडाकेदार ३ श्रीकाेटकी फुनडी विष्टले बताउनुभयाे। हिउँदको समयमा गाई भैंसीलाई खुवाउन घाँस अभाव हुने भएकाले मकै भित्र्याएर खर काट्न चटारो परेको हो। उहाँले भन्नुभयाे,”असोज पहिलो सातादेखि नै खर काट्ने चटारो बढेको छ। दिनभरी खर काट्नमा महिलाहरु व्यस्त हुन्छन, हामीलाई के दशैं के रमाइलाे पानी पिउने समय समेत हुदैन।”
सुदूरपश्चिमका पहाडी जिल्लाका महिलाहरुले हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि असोज कार्तिकमा खर काटेर थुप्रो बनाउने गरेका छन्। कुन्युमा थुप्रो बनाएको खरलाई हिउँदको समयमा गाईवस्तुलाई खुवाउने गरिन्छ।
याे समय भनेकाे खर काट्ने भएकाले दशैंभन्दा पनि खर काट्नमै ब्यस्त रहेका पाटन नगरपालिका-०१ कि कल्पना बिकले बताउनुभयाे।खरसँगै केही दिनमा गहुँ छर्न खेत तयार पार्ने समय आउने भएकाले दशैँभन्दा पनि उनीहरूले घाँस भित्र्याउने कामलाई बढी ध्यान दिनुपरेको छ। उहाँले भन्नुभयाे,” याे खर काट्ने उत्तम समय हाे,याे समयमा खर नकाट्याे भने हिउँदमा गाईभैसीलाई खुवाउन पुग्दैन त्यसैले दशैंभन्दा नि खर भित्र्याउन चटाराे छ। दशैँ तिहार सबैतिर लागेको छ तर आफ्ना लागि खर काट्ने चटारो मात्रै रहेको छ। ” महिलाहरुले छिमेकीसँग पालोपैँचो गरी खर काट्ने गर्छन्।
सुदूरपश्चिमका पहाडी जिल्लाका महिलाहरुले हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि असोज कार्तिकमा खर काटेर थुप्रो बनाउने गरेका छन् । कुन्युमा थुप्रो बनाएको खरलाई हिउँदको समयमा गाईवस्तुलाई खुवाउने गरिन्छ ।
गाउँमा दशैको चहलपहल बढे पनि महिलाहरुलाई खर काट्न भ्याइनभ्याई रहेकाे सनातन धर्म माविका शिक्षक रमेश नाथले बताउनुभयाे। उहाँले भन्नुभयाे,” याे समयमा बालबालिकाकाे पनि विद्यालयकाे बिदा हुने गर्दछ। त्यसैले महिलाहरूलाई खर काट्न भ्याइनभ्याई छ।”
खर काट्ने बेलामा कतिपय ठाउँमा भीर भएकाले महिलाले जोखिम मोलेर खर काट्ने गरेका छन्। घाँस काट्ने लोभमा उनीहरु भीरमा चढेर खर काट्ने भएकाले प्रत्येक वर्ष अप्रिय घटनासमेत हुने गरेको छ।
खर काट्ने क्रममा यहाँका कतिपय महिलाको अकालमै ज्यान समेत जाने गरेकाे छ। भिरमा खर काट्ने बेला लडेर महिलाहरुले अकालमै ज्यान गुमाउने गरेका हुन्। भीरमा खर काट्दा सर्तकता अपनाउन आग्रह गरिएको छ।
गाउँघरमा दशै, नवरात्रा र तिहारको लागि भारत तथा तेस्रो मुलक गएका दाजुभाईहरु पनि घर फर्केका छन् । यहाँका शक्तिपीठमा दर्शनार्थी बढेका छन्।
साथै सुदूरपश्चिममा दशैँका बेला खानपिनभन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको पाइन्छ। सुदूरपश्चिममा पुस्तौंदेखि सात्विक हिसाबले दशैँ मनाईने गरिएको छ।
दशैँको समयमा खानपिन गरेर रमाइलो गर्ने चलन रहेको भए पनि यो क्षेत्रमा सात्विक हिसाबले दशैँ मनाउने चलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयाे। उहाँले भन्नुभयो,”दशैँको घटनास्थापनाको दिनदेखि नै धेरैजसोले नवरात्र उपासना तथा जाग्राम बसेर विजयादशमीको टीका ग्रहण गरेर मात्रै भोजन गर्ने चलन रहेको छ। दशैँका बेला देवीदेवताका मन्दिरमा पूजापाठ हुने भएकाले सादगी हिसाबले दशैँ मनाउने गरिएको छ।”
परापूर्वकालदेखि नै यो क्षेत्रमा दशैँको बेला घटस्थापनादेखि चोखो भोको रहने र नवरात्र उपासना गर्ने चलन रहेको छ। यो समयमा नवरात्र उपासना गर्नेहरुले शुद्ध शाकाहारी भोजन मात्रै गर्ने गर्दछन्।

