बैतडी: राेकिराखेकाे जिप आफैं गुड्दा दुर्घटना

बैतडी: बैतडीमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। घाइते हुनेहरूमा जिल्लाकाे सुर्नया गाउँपालिका ३ का ३३ वर्षीय विरसिंह महरा, सुर्नया ६ का २० वर्षीय वसन्त कुँवर, सुर्नया ४ का २० वर्षीय नवीन सिंह महरा र सुर्नया ४ कै २८ वर्षीय मानसिंह महरा रहेका छन्।

घाइतेमध्ये विरसिंह र वसन्तलाई उपचारकाे लागि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे। अन्य घाइते दुईजनाकाे स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

धनगढीबाट रिगातर्फ आउदै गरेकाे म १ ज १८६ नम्बरकाे बाेलेराे जिप मंगलबार राति साढे ८ बजेतिर मुस्याखान-शंकरपुर भित्री सडककाे सुर्नया गाउँपालिका ६ खर्काधारमा दुर्घटनामा परेकाे हाे।

राेकिराखेकाे जिप आफै गुड्दा दुर्घटना भएकाे प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त जिप सडकबाट ६० मिटर तल खसेकाे छ।
जिप चालक २२ वर्षीय प्रकाश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!