काठमाडौं: काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिगकाे उपाधिकाे लागि कर्णाली यश्विज र ललितपुर क्विन्स भिड्ने भएका छन्। गएराति सम्पन्न लिगको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३-१ ले पराजित गरेपछि फाइनल समिकरण तयार भएको हो ।
कर्णाली अपराजित रहदै शिर्षमा रहदै फाइनलमा पुगेकाे हाे भने ललितपुर अंकतालिकाकाे दाेस्राे स्थानमा रहदै उपाधि नजिक पुग्याे।
रातमा यसअघि फाइनल पुगिसकेको कर्णालीविरुद्ध काठमाडौंले फाइनल पुग्न २ सेट आफ्नो पक्षमा पारे पुग्ने अवस्था रहेपनि त्यो हासिल गर्न नसक्दा काठमाडौं फाइनल पुग्न पाएन । ललितपुर भने अन्तिम दिन चितवनलाई हराउँदै दोस्रो स्थानमा उक्लेसँगै फाइनल प्रवेश गर्न सफल रह्यो ।
दशरथ रंगशालाको कभर्ड हलमा पहिलो सेटमा कर्णालीले उत्कृष्ट सुरुवात गर्दै फराकिलो अग्रता लिएपनि उक्त सेट २५-२३ ले गुमायो । तर त्यसपछिका ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै कर्णाली अपराजित रहेर फाइनल यात्रा तय गर्न सफल रह्यो । काठमाडौं भने फाइनल नजिक पुगेर पनि बन्चित भयो ।
कर्णालीले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-२३ र चौथो सेटमा २५-१२ को सहज जित निकाल्यो । यससँगै कर्णालीको ५ खेलमा १३ अंक पुग्यो । दोस्रो स्थानमा ललितपुर क्विन्सले ५ खेलमा १० अंक जोड्यो । काठमाडौं भने ९ अंकसहित तेस्रो स्थानमा रह्यो ।
चितवन शक्तिले ५ खेलमा ७ अंक र गण्डकी थन्डर्सले ६ अंक जोड्दा मधेश युनाइटेड अंकविहिन रहँदै लिगको अन्त्य गर्यो ।
फाइनल खेल शनिबार साढे ५ बजे हुनेछ ।
