नेपाल सम्मिलित टी-२० सिरिज क्यानडाले जित्यो

काठमाडौं:त्रिकोणात्मक टी–२० सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा गएराति सम्पन्न खेलमा ओमानलाई पाँच विकेटले पराजित गर्दै क्यानडाले उपाधि जितेको हो ।

ओमानले दिएको ८३ रनको लक्ष्य क्यानडाले १४ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । क्यानडाका लागि कप्तान निकलोस कृतनले सर्वाधिक २० रनको योगदान दिए भने हर्ष ठाकरले १८ रन बनाए । त्यस्तै दिलप्रित बजवाले १४ तथा नभनित धलिवालले ११ रन बनाए । 

ओमानका अकिब इलियासल र कालिमउल्लाहले समान दुई–दुई विकेट लिए भने जिसन मक्सुदले एक विकेट झारे । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो । 

ओमानको लागि कप्तान अकिब इलियासले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ४४ बलमा तीन चौका र एक छक्काको सहायताले ३५ रन जोडेका हुन् । त्यसैगरी शाकिल अहमदले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

बलिङतर्फ क्यानडाका अखिल कुमार र प्रभिन कुमारले समान तीन–तीन विकेट लिए भने हर्ष ठाकरले दुई विकेट लिए । त्यसैगरी सादविन जफरले एक विकेट झारे ।

तीन देश सम्मिलित सिरिजमा क्यानडाले पहिलो र दोस्रो खेलमा नेपाललाई १४ रन र चार विकेटले पराजित गरेको थियो । त्यसैगरी ओमानविरुद्धको पहिलो खेलमा क्यानडा आठ विकेटले पराजित भएको थियो । 

नेपाल भने दोस्रो स्थानमा रह्यो । यसअघि नेपालले ओमानलाई पहिलो खेलमा ३७ रन तथा दोस्रो खेलमा ५६ रनले हराएको थियो । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!