काठमाडौं: कर्णाली यश्विजले काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा लगातार चाैथाे जित दर्ता गरेकाे छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा चाैथाे जित दर्ता गर्ने क्रममा कर्णालीले चितवन शक्तिमाथि ३–२ सेटको रोमाञ्चक जित हासिल गर्याे।
जितसँगै कर्णाली चार खेलमा १० अंक जोडेर फाइनल नजिक पुगेकाे छ।
यसैबीच काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य लिग चरणबाटै बाहिरिएका छन् ।
काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् ।
फाइनल पुग्ने सम्भावना कायम राख्न जितको खाँचो रहेपनि नतिजा आफ्नो पक्षमा पार्न नसक्दा मधेश बाहिरिन पुग्यो । मधेशले खेलेको सबै ४ खेलमा हार बेहोर्न पुग्यो । महिला राष्ट्रिय टोलीकी सदस्य निरुता ठगुन्ना मार्की खेलाडी रहेको मधेशले ४ खेलमा सेट जितेपनि अंकको खाता खोल्न सकेको छैन ।
यता, मधेशको हारसँगै गण्डकी पनि लिग चरणबाट बाहिरिन पुग्यो । गण्डकीले अब बाँकी दुवै खेलमा जित हात पारेपनि शीर्ष दुईमा रहने टोलीको अंकलाई भेट्टाउने छैन ।
