बैतडी: बडादशैँको पहिलो दिन आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका शक्तिपीठ तथा मन्दिरहरुमा सामुहिक जमरा राखेर घटस्थापना गरिएको छ । यहाँका शक्तिपीठ तथा मन्दिरहरुमा सामूहिक जमरा राख्ने प्रचलन रही आएको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयाे । उहाँले भन्नुभयाे,”घरघरबाट जौं लगेर मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ। दशैंको बेला हाम्रो यतातिर घरघरमा जमरा राख्ने चलन छैन् । मन्दिरमै सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ । दशैंको दिन सबैले मन्दिरबाटै जमरा लगेर लगाउने गरिन्छ।”
जिल्लाका सबैजसो मन्दिर तथा शक्तिपीठहरुमा सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ । जिल्लाका प्रसिद्ध शक्तिपीठहरुमा आज सामूहिक रुपमा जमरा राखिएको जनाइएको छ।
जिल्लाका प्रसिद्ध त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, कालशैनीलगायतका शक्तिपीठहरुमा सामूहिक जमरा राखिएको छ । यस्तै सिगास, केदार,शिवनाथ, जगन्नाथ, नागार्जुन, बासुलिङ्ग, दोगडाकेदार, महारुद्र, उदयदेव, अनिरुद्र, भूमिराज लगायतका मन्दिरहरुमा सामूहिक रुपमा जमरा राखिएको छ । मन्दिरहरुमा जमरा राखेपछि नवरात्र पनि शुरु भएको छ । मन्दिरमै बसेर नवरात्र उपासना गर्ने चलन समेत रही आएको छ ।
शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राख्नु अघि भण्डार घरबाट शक्तिपीठ तथा मन्दिरहरुमा देउरो लग्ने चलन रही आएको छ । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भण्डार घरबाट भगवतीको सवारी गराएपछि सामूहिक जमरा राखिएको मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताउनुभयाे । उहाँले भन्नुभयाे,”घटस्थापनाका दिन निङ्गलाशैनी भगवतीको मन्दिरबाट देउरो ल्याउने प्रचलन रही आएको छ । मन्दिरमा देउरो ल्याइसकेपछि सामूहिक जमरा राखेका छौं ।”
सामूहिक रुपमा जमरा राख्ने प्रचलनले सामाजिक सदभाव पनि कायम हुने पण्डित चन्द्रदेव जाेशीले बताउनुभयाे । उहाँले भन्नुभयाे,” दशैंको समयमा सामूहिक रुपमा शक्तिको पूजा गर्ने प्रचलन रहेको र सोही अनुसार सामूहिक पूजाआजा गर्ने गरिएको छ। सामूहिक रुपमा जमरा राख्ने चलन पहिलादेखिको हो । यो प्रचलनले सामाजिक सदभावलाई बढाएको छ ।सबैलाई एकैठाउँमा भेटघाट हुने वातावरण समेत सिर्जना गरेको छ ।”
शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राखिएसंगै नित्य पूजा आराधना गर्ने गरिएको छ । सप्तशती चण्डी लगायतका पाठहरु पढ्ने र माता दुर्गाको आराधना गर्ने प्रचलन पनि रहेकाे छ।
नवरात्र शुरु भएसंगै देवीदेवताका मन्दिरहरुमा भक्तजनहरुको घुँइचो बढेको छ । बसाइसराई गरेर गएकाहरु पनि दशैंको समयमा थातथलोमा फर्कने भएकाले शक्तिपीठ तथा मन्दिरहरुमा घुँइचो लागेको हो । जिल्लामा रहेका देवीका मन्दिरहरुमा घटस्थापनाकै दिनदेखि भक्तजनहरुको घुँइचो लाग्ने गरेको छ ।
बैतडीमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा दशैंको बेला सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत दर्शनका लागि पुग्ने गरेका स्थानीय दीपेन्द्रबहादुर बाेहराले बताउनुभयो ।दशैंलाई पारिवारिक मिलनकाे पर्वका रूपमा पनि लिइन्छ।
