बैतडी: दशरथचन्द राजमार्ग अन्तरगत बैतडीकाे पाटन नगरपालिका -८ खोड्पे नजिकै एम्बुलेन्स दुर्घटनामा परेकाे छ।
जिल्ला अस्पताल बैतडीबाट गर्भवती बाेकेर डडेल्धुरा जाँदै गरेकाे सु.प.प्र.०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो २ बजेतिर खाेडपे नजिकै दुर्घटनामा परेकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे।
दुर्घटनामा परेकाे एम्बुलेन्स जिल्ला अस्पतालकाे रहेकाे बताइएको छ।
एम्बुलेन्समा एक गर्भवती महिलासहित ३ जना सवार रहेका बताइएको छ ।
एम्बुलेन्समा सवार सबै सकुशल रहेका र उनीहरुलाई अर्को गाडीमार्फत डडेल्धुरा पठाइएको छ।
एम्बुलेन्स चालक ५० वर्षीय प्रकाश चन्दलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। चालक प्रकाशले मादक पदार्थ सेवन गरेकाे आशंका गरिएको छ। चालककाे मुखमा मादक पदार्थकाे जस्ताे गन्ध आइरहेकोले मेडिकल गर्न पाटन लगिएको छ।
मापसे गरेकाे पुष्टि भए कारबाही गरिने भएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
