काठमाडौं: आइसीसी टि-२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ ।
विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
नेपालले फ्लोरिडामा केही दिन प्रशिक्षण गरेर वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जाने बताइएको छ । त्यहाँ गएर विश्वकप नै हुने मैदानमा नेपालले प्रशिक्षण र अभ्यास खेल खेल्नेछ । त्यसपछि टोली अन्तिम तयारीका लागि टेक्सासको ह्युस्टन आउने तयारी छ । नेपालले विश्वकपअघि अन्तिम वार्म अप खेल भने डालासमै खेल्नेछ ।
नेपालले राेहितकुमार पाैडेलकाे कप्तानीमा यसअघि नै १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ ।
रोहितसंगै दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह ,सन्दीप जोरा, कुशल मल्ल ,गुलशन झा, सोमपाल कामी ,करण केसी, अभिनाश बोहोरा , कमल सिंह ऐरी, प्रतिश जिसी ,ललित नारायण राजवंशी र सागर ढकाल टाेलीमा स्थान सुरक्षित गरेका छन्।

