बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिकामा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ। डेंगुकाे संक्रमणबाट बच्नका लागि उक्त अभियान सञ्चालन गरिएको दाेगडाकेदार गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक जनकराज कलाैनीले जानकारी दिनुभयाे।
पालिकाभरिनै अभियान सञ्चालन गरिएको छ। उहाँले भन्नुभयाे,” दाेगडाकेदारका एकजना युवकमा डेंगु देखिएपछि हामीले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेका छाैं। राेग लागेपछि उपचार गर्नुभन्दा राेग लाग्न नदिनका लागि अभियान थालिएको हाे।”
लार्भा खोज र नष्ट गर अभियानसंगै सचेतनामूलक कार्यक्रम पनि सञ्चालनमा रहेका दाेगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयो । स्वास्थ्यकर्मीको टोलीले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान अन्तर्गत सरसफाइ समेत गरेको छ। उहाँले भन्नुभयाे,” भरेर राखेका पानीका ड्रम, पानी जमेका खाल्डाखुल्डीमा लामखुट्टेको वृद्धि विकास हुने भएकाले सरसफाइमा ध्यान दिन स्थानीयहरुलाई सुझाव दिइएको छ। स्थानीय नागरिकहरुलाई एकै ठाउँमा जमा गरेर तथा घरमै पुगेर डेंगु रोगका र यसबाट बच्ने उपायका बारेमा जानकारी दिइएको छ।”
ज्वराेका बिरामी बढिरहेकाले परिक्षण गरेर मात्रै औषधि दिने गरिएको श्रीकाेट स्वास्थ्य चाैकीका ईञ्चार्ज वीरसिंह भाटले बताउनुभयाे। उहाँले भन्नुभयाे,” डेंगु हुनसक्ने भन्दै स्वास्थ्यचाैकीमा आउने बिरामीकाे परीक्षण गर्ने गरिएको छ। साथसाथै सरसफाइमा ध्यान दिन पनि आग्रह गर्ने गरेका छाैं।”
वर्षातकाे समयमा डेंगुकाे संक्रमण बढी हुने भएकाेले सचेतनामूलक कार्यक्रमका साथै लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको सित्तड स्वास्थ्यचाैकीका ईञ्चार्ज नैनसिंह गाेयलाले बताउनुभयाे।उहाँले भन्नुभयाे,” समूदायमै गएर लार्भा खोज र नष्ट गर अभियानका साथै सचेतनाका कार्यक्रम चलाएका छाैं।”
एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने गर्दछ । डेंगु रोगको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
डेंगु संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्नेजस्ता कडा खालका लक्षणसमेत देखा पर्दछन्।
यस्ता खालका लक्षण देखिएमा डेंगुको जाँच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेंगुको जाँच नगरीकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताउनुभयो ।
ज्वरोका बिरामीहरुमा डेंगु समेत हुन सक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न समेत स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

