एनपिएलमा छानिएका मार्की खेलाडीले २० लाख पाउने,दीपेन्द्र सुदूरपश्चिमका क्याप्टेन

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) का सबै आठ टोलीका मार्की खेलाडी छनाैट भएका छन्।
नेपाल क्रिकेट संघ क्यानले आज गाेलाप्रथाबाट टाेलीका मार्की खेलाडी छनाैट गरेकाे हाे ।

जसअनुसार कप्तान रोहितकुमार पौडेल लुम्बिनी,दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम,साेमपाल कामी कर्णाली, करण केसी काठमाडौं, आसिफ शेख जनकपुर,कुशल भुर्तेल पाेखरा, कुशल मल्ल चितवन र सन्दीप लामिछाने विराटनगरका मार्की खेलाडी छनाैेट भएका छन्।
छनाैट भएका प्रत्येक मार्की खेलाडीले जनही २० लाख पाउनेछन् ।

क्यानले लिगको टोली र मार्की खेलाडी घोषणा गरेसँगै अब खेलाडी आबद्ध गर्न अक्सन गर्नेछ। 

एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। क्यानको महत्वाकांक्षी परियोजना एनपिएल आफैँले पहिलो पटक आयोजना गर्न लागेको हो। 

यसअघि आठ टोली कुल १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रूपैयाँमा बिक्री भएको थियो। 

क्यानले टोलीका लिलामी प्रक्रिया गरेको थियो। जसमा टिम पोखरा सर्वाधिक रकममा बिक्री भएको थियो। पोखराका लागि नेपाल टी-२० क्रिकेट प्रालिले टिम पोखरा ३ करोड ५७ लाख रूपैयाँको बोली लगाएको थियो।  आठ टोलीमध्ये सबैभन्दा कम रकम कर्णालीका लागि लागेको थियो। टिम कर्णालीका लागि हिमालयन बिल्डर्सले  १ करोड ११ लाख रूपैयाँ तिरेको थियो। 

कान्तिपुर पब्लिकेसन प्रालिले टिम काठमाडौं ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँमा खरिद गरेको थियो। 

टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रूपैयाँमा लिन सफल भएको थियो। 

फर्चुना हेल्थकेयर प्रालिले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रूपैयाँमा स्वामित्व ग्रहण गरेको थियो।  ड्रिम स्पोर्ट्स प्रालिले टिम जनकपुरलाई लिएको थियो। जनकपुरले २ करोड ५ लाख रूपैयाँमा टिम किनेको थियो।

एमएडी ड्रिम्स स्पोर्ट्सले टिम विराटनगर १ करोड ५१ लाख रूपैयाँमा लिएको थियो। टिम सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले  १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रूपैयाँमा खरिद गरेको थियो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!