बैतडी: बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएकी एक युवतीकाे उपचारको क्रममा मृत्युु भएकाे छ। मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ८ की १८ वर्षीया सविना महरा रहेकी छन्।
सविनाकाे उपचारकाे क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
जिल्लाको सुर्नया गाउँपालिका ८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सु.प.प्र.०१००ज १३५४ नम्बरको जिप मंगलबार दुर्घटनामा परेको थियो ।
भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा चालक सुर्नया गाउँपालिका ७ का लालबहादुर कुँवरसहित पाँच जना घाइते भएका थिए । घाइते मध्ये सविनालाई थप उपचारका लागि डडेल्धुरा अस्पतालबाट धनगढी रेफर गरिएको थियो ।
दुर्घटनामा घाइते भएका चालक लालबहादुर कुँवर, सुर्नया ८ का २१ बर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ बर्षीय मानबहादुर महरा र ४० बर्षीय धनबहादुर महरा डडेल्धुरा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
चालक लालबहादुर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
