बैतडी:सुदूरपश्चिम प्रदेशमा गाैरा पर्वकाे राैनकता छाएको छ। सुदूरपश्चिमेलीहरुका लागि याे मुख्य पर्व हाे।
याे पर्वलाई सुदूरपश्चिमेलीहरूले दशैंकाे भन्दा बढी महत्त्व दिएर मनाउने गर्दछन्।जुन आजदेखि सुरू भएसंगै यहाँ राैनकता छाएकाे हाे।
पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयाे ।
यो बर्षको गौरा भदौ कृष्ण पक्षमा परेकोले भदौ कृष्ण पञ्चमीदेखि गौरा शुरु भएको हाे।
गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।
गौरा पर्वको पहिलो दिन ब्रतालु महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाउने गर्दछन् । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको दाेगडाकेदार गाउँपालिका ३ श्रीकाेटकी फुनडी विष्टले बताउनुभयाे।
गौरापर्व सुदूरपश्चिमको मौलिक चाड रहेको समेत उनले बताइन् ।यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् ।
यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।
शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ । गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरु पनि खेल्ने चलन रही आएको स्थानीय जयराज नाथले बताउनुभयाे ।
गौरा पर्व शुरु भएसंगै यहाँका गाउँघरमा चहलपहल बढेको छ ।
गाैरालाई शान्त र मर्यादित बनाउन जिल्ला सुरक्षा समितिकाे बैठक बसेर सुरक्षाकाे प्रवन्ध मिलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयाे।
शान्ति,सुरक्षाका साथै चाडपर्व लक्षित अनुगमन पनि जारी रहेकाे छ । उहाँले भन्नुभयाे,”गाैरालाई शान्त र मर्यादित बनाउन जिल्ला सुरक्षा समितिकाे बैठक बसेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरि सुरक्षाकाे प्रवन्ध मिलाइएका छाैं। चाडपर्वका बेला हुने कालाेबजारी,अखाद्य बस्तु बिक्रीवितरण राेक्न बजार अनुगमन पनि संगसंगै थालेका छाैं।”
यस वर्षकाे गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली भदौ १० गते परेको छ ।
