बैतडी: जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नती गर्नुपर्ने माग गरिएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मामार्फत स्तराेन्नतीमा माग गर्दै बैतडीबासीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ध्यानाकर्षण पत्र पठाएका छन्।
५० बर्ष पहिला स्थापना भएको अस्पतालले अहिले समेत विशेषज्ञ सेवा दिन नसकेको स्मरण गराउँदै अस्पताल स्तरोन्नतीको माग गर्दै ध्यानाकर्षण पत्र पठाइएकाे महेशदत्त भट्टले बताउनुभयाे। ।
वि स २०३३ सालमा स्थापना भएको अस्पतालमा अझै पनि आधारभूत सेवा पाउन मुस्किल छ।
स–साना रोगको उपचारका लागि पनि भारतको पिथौरागढ अर्थात डडेल्धुरा र धनगढी धाउनुपर्ने बाध्यता छ।
अहिले प्रदेश सरकार अहिले बजेट निर्माणको चरणमा रहेकाले हामीले अस्पताल स्तरोन्नतीको माग गरिएको भट्टले बताउनुभयाे। उहाँले भन्नुभयाे,” सामान्य उपचार गर्न समेत जिल्ला बाहिर जानुुुुपर्ने अवस्था छ,दरबन्दी अनुसार डाक्टर छैनन् । अस्पताल स्तराेन्नती गरी समस्या समाधान गरिनुपर्ने माग गरि ध्यानाकर्षण पत्र पठाएका हाैं। ”
मुख्यमन्त्री शाहलाई बुझाइएको पाँच बुँदे ज्ञापन पत्रमा जिल्ला अस्पताल बैतडीलाई ५० शैय्याको अस्पताल सञ्चालनको स्वीकृत दिनुपर्ने माग गरिएको छ। अस्पतालसंग आवश्यक भौतिक संरचना भएकाले ५० शैय्याको अस्पताल सञ्चालनको स्वीकृती दिनुपर्ने माग गरिएको हो ।
यस्तै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत गर्नुपर्ने, डिजिटल एक्सरे मेसिन उपलब्ध गराउनुपर्ने, फिजियोथेरापी स्टेप मेसिन उपलब्ध गराउनुपर्ने, हड्डी भाँचिएका बिरामीको उपचारका लागि सीएम मेसिन उपलब्ध गराउनुपर्ने लगाएतका माग राखिएका छन्।
जिल्ला अस्पताल अहिले १५ शय्यामा मात्रै सञ्चालनमा छ।
अस्पताल स्तरोन्नतीको मागसहित ध्यानाकर्षण पत्र बुझाउन दशरथचन्द नगरपालिकाका निवर्तमान नगर प्रमुख नरेन्द्रसिंह थापा, बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्ट, सामाजिक अगुवा महेशदत्त भट्ट, दिपेश शाह, मोहित भण्डारी लगायत व्यक्तिहरु जिल्ला प्रशासन कार्यालय पुग्नुभएकाे थियाे ।

