बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिकामा जारी साहित्य सम्मेलन तथा नेपाल-भारत काव्य गाेष्ठी नाै बुँदे घाेषणापत्र जारी गर्दै सम्पन्न भएकाे छ।
राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखक र दाेगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीद्वारा हस्ताक्षरित घाेषणापत्रमा दाेगडाकेदार गाउँपालिका क्षेत्रकाे लाेक भाषा,साहित्य,संस्कृति तथा कला संरक्षण सम्बृद्धिका लागि पालिकास्तरीय याेजना तर्जुमा गरि वार्षिक कार्यक्रमका रूपमा सञ्चालन गर्ने,भाषा,साहित्य , कला संस्कृतिकाे अभिवृद्धि गर्न स्थानीय पाठ्यक्रममा यस क्षेत्रका विषयवस्तु समावेश गर्ने,युवा तथा विद्यार्थी केन्द्रीत प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।
सार्वजनिक तथा सांस्कृतिक,पुरातात्त्विक,ऐतिहासिक र पर्यटकीय सम्पदाहरूकाे लगत संकलन गरि अभिलेखिकरण गर्ने तथा संरक्षण,संम्बर्धनात्मक, कार्यक्रम सञ्चालन गर्ने,दाेगडाकेदारका ऐतिहासिक तथा साहित्यिक व्यक्तित्वहरूमा सम्मान,पुरस्कार तथा अक्षयकोष स्थापना गर्ने तथा महत्त्वपूर्ण कृति प्रकाशनमा सहयाेग पुर्याउने,छिमेकी पालिकाहरूसंग समेत सहकार्य गरि साहित्यिक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने घाेषणापत्रमा लेखिएको छ।
यसका साथै पालिकास्तरमा आयाेजना हुने कार्यक्रमहरूकाे अभिलेखिकरण र जनचेतना प्रचार गर्न बुलेटिन तथा स्मारिका प्रकाशन गर्ने,महत्वपूर्ण स्थलहरू,बजार,विद्यालयहरूमा सचेतनामूलक काेटेसन,हाेडिङ बाेर्ड तथा सूचना पाटी राख्ने र चमेलिया (चर्मण्यवती)तटीय क्षेत्रका स्थानीय तहहरूसंग समन्वय गरि चर्मण्यवती सभ्यता अध्ययन गरिने घाेषणापत्रमा उल्लेख गरिएको छ।
राष्ट्रिय संरक्षण अभियानको आयाेजना र दाेगडाकेदार गाउँपालिकाकाे प्रवर्द्धनमा सम्मेलन तथा गाेष्ठी दुईदिन सञ्चालन भएको हाे।
सम्मेलन तथा गाेष्ठीकाे बरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली(सितविन्दु)ले मंगलबार उद्घाटन गर्नुभएकाे थियोे ।
स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले आयाेजित सम्मेलनमा सगुन,भडाहा, र फागहरूलगायत स्थानीय कला संस्कृतिकाे पनि प्रस्तुति राखिएका थिए ।
श्रीकाेट बहुमुखी क्याम्पसमा सुरू भएकाे सम्मेलनमा नेपाल-भारतका एक सय बढी साहित्यकार र कविहरूकाे सहभागिता रहेकाे थियाे ।
सम्मेलनमा कवि गोष्ठी, विद्वानहरूकाे कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा स्थानीय पर्यटकीय स्थलको भ्रमण गराइएको थियाे।
नेपाल र भारत सांस्कृतिक र साहित्यक हिसाबले पनि नजिक रहेका मुलुक भएकाले दुवै देशका साहित्यकारहरुको सहभागितामा सम्मेलनको आयोजना गरिएकाे दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयाे । मानसखण्ड संस्कृति दुवै देशको साझा संस्कृति भएकाले नेपाल-भारतको सम्बन्धमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ ।

