केपी ओली नेपालका नयाँ प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालका नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो।

नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको शपथ सोमबार बिहान ११ बजे शितल निवासमा हुनेछ।

गत असार १७ गते कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्नेलगायत सहमति भएको थियो। त्यसपछि एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

यसैबीच कांग्रेस र एमालेले ओली सरकारमा सहभागी हुने मन्त्रीहरू सोमबार बिहानसम्म टुंगो लगाउने जनाएका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!