बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु

बझाङ: बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।
बिहान करिब १०:२० बजे टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक उपेन्द्र तिमिल्शैनाले बताउनुभयो ।

दुर्घटनामा परी बुंगल नगरपालिका–१० निवासी करिब ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको मृत्यु भएको छ। घटनामा एक बालक बेपत्ता रहेको जनाइएको छ।
अटोमा चालकसहित ४/५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि अटो तथा अन्य सवार व्यक्तिबारे थप विवरण खुल्न सकेको छैन।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल प्रहरी पोस्टबाट करिब एक घण्टा पैदल दूरीमा रहेको जनाइएको छ।
हाल बेपत्ता बालकको खोजी तथा उद्धार कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!