एजेन्सी :पोर्चुगलका विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। २३ वर्ष लामो यात्रा पूरा गर्दै ४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट बिदा लिने निर्णय सार्वजनिक गरेका हुन्।
रोनाल्डोले इन्स्टाग्राममा लामो भिडियो पोस्ट गर्दै समर्थकका नाममा भावुक सन्देश पढेर सुनाएका छन्। उनले पोर्चुगलको प्रतिष्ठित सात नम्बरको जर्सी अब अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्।
‘आज हाम्रो राष्ट्रिय टोलीको सात नम्बरको जर्सी फिर्ता गर्ने दिन आएको छ। यो जर्सी कहिल्यै मेरो मात्र थिएन। तर २३ वर्षसम्म यसलाई लगाउने सौभाग्य र जिम्मेवारी मैले पाएँ,’ रोनाल्डोले भनेका छन्।
पोर्चुगलका लागि रोनाल्डोले २४३ अन्तर्राष्ट्रिय खेल खेल्दै कीर्तिमानी १४६ गोल गरेका छन्। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन्। उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलोपटक युरोपियन च्याम्पियनसिप ९युरो० को उपाधि जितेको थियो। यस्तै, पोर्चुगलले उनको नेतृत्वमा दुईपटक यूईएफए नेसन्स लिगको उपाधिसमेत जितेको थियो।
सन् २००३ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले दुई दशकभन्दा लामो समय पोर्चुगलको आक्रमण सम्हाले। यस अवधिमा उनले थुप्रै कीर्तिमान बनाए भने विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान स्थापित गरे।
संन्यासको घोषणा गर्दै रोनाल्डोले राष्ट्रिय टोलीका सहकर्मी, प्रशिक्षक, परिवार तथा विश्वभर रहेका पोर्चुगिज समर्थकलाई धन्यवाद दिएका छन्।
