काठमाडौं:नेपाली महिला यू-१९ क्रिकेट टोली एसिया कपमा छनोट भएको छ । बुधबार भएको एसीसी यू–१९ महिला प्रिमियर कप क्वाटरफाइनलमा जापानलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल पुगेपछि नेपाल एसिया कपमा पनि छनोट भएको हो ।
जापानले दिएको ८७ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । साबित्री धामी ४१ रनमा अविजित रहँदा कप्तान सोनी पाख्रिन र सना प्रवीणले समान १८ रन बनाए ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जापानले २० ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । कप्तान बियान्का शिनो ३८ रनमा अविजित रहिन् । अयाने साकुराबा र किचो सुजुकीले समान १० रन बनाए ।
नेपालका लागि रिया शर्मा र कृश्मा गुरुङले २/२ विकेट लिँदा अनु कडायत, मनिषा उपाध्याय र सोनी पाख्रिनले १/१ विकेट लिए ।
सावित्री प्लेयर अफ दी म्याच चुनिइन्।
नेपालले अब सेमिफाइनलमा यूएईसँग खेल्नेछ । सेमिफाइनल पर्सि शुक्रबार हुनेछ ।
