बैतडी: बैतडीमा आजदेखि नेपाल–इन्डो टि २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । दशरथचन्द नगरपालिका–१० रातामाटास्थित बुड्डाबाजे क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको एक औपचारिक कार्यक्रमकाबीच बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले उद्घाटन गर्नुभयो ।
औपचारिक उद्घाटनपश्चात आज दुई खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा आयोजक पञ्चकोटी युवा क्लबले एनआरवाइसी बठ्ठालाई १४७ रनले हरायो ।
जितका लागि पाएको २३६ रनको बिशाल लक्ष्य पछ्याएको बठ्ठा १४ दशमलब ३ ओभरमा ८८ रनमा समेटियो ।
जसमा ईश्वर पन्तले अर्धशतकीय पारी खेल्दै ५१ रनको पारी जोडेपनि हार टार्न सकेनन् । बलिंगमा पञ्चकोटीका निखिल चन्द एक्लैले ६ विकेट हात पारे ।
यसअघि पहिला ब्याटिंग गरेको पञ्चकोटीले निर्धारित १५ ओभरमा बिना विकेटको क्षतिमा २३५ रन बनायो जसमा सुमित बुडालले शतक र प्रयास राववले अर्धशतकीय पारी खेले । सुमित १२४ र प्रयास ९८ रनमा अविजित रहे । सुमित प्लेयर अफ दी म्याच समेत चुनिए ।
यस्तै आजै भएको दोस्रो खेलमा भेलेनाथ टिममाथि रातामाटाको टोलीले ८ विकेटको जित निकाल्यो । रातामाटाको जितमा प्लेयर अफ दी म्याच समेत घोषित भएका महेश बुडालले अविजित ४३ रन बनाउनुका साथै ३ विकेट हात पारे ।
यसअघि पहिला ब्याटिंग गरेको भेलेनाथले निर्धारित १५ ओभरमा ८ विकेटको क्षतिमा ९९ रन बनायो । भेलेनाथका महेश विष्टले २४ रन बनाए । भने बशन्त लावडले १ विकेट झारे ।
पञ्चकोटी युवा क्लबको आयोजनामा सुरु भएका प्रतियोगितामा नेपाल र भारतका गरेर १२ टोलीको सहभागिता रहेको छ । चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै दुई देशको सम्बन्ध प्रगाढमा सहयोग पुग्ने विश्वास राखिएको छ ।

