बैतडी: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटकाे उपाधि कञ्चनपुरले हात पारेको छ।
आज सम्पन्न उपाधि भिडन्तमा बैतडीमाथी ९ रनकाे जित निकाल्दै कञ्चनपुर च्याम्पियन बन्याे ।
खराब माैसमका कारण २५ ओभरमा छाेट्याइएकाे खेलमा पहिला ब्याटिङ गरेकाे कञ्चनपुर २४.५ ओभरमा १३५ रनमा समेटियाे।
जसमा आर्यन टमट्टा र किरन चन्दले सर्वाधिक १९/१९ रन जाेडे।
बलिङमा बैतडीका हिक्मत महरा र सचिन भट्टले २/२ विकेट हात पारेका स्काेरर लाेकेश जाेशीले बताउनुभयो ।
जवाफी ब्याटिङमा उत्रेकाे बैतडीले निर्धारित २५ ओभरमा ८ विकेटको क्षतिमा १२६ रन मात्रै बनाउन सक्याे।
उसका सुनिल चन्दले ४२ र आयुश चन्दले २३ रनकाे याेगदान गरेपनि हार टार्न सकेन ।
कञ्चनपुरका विकास आग्री र अरूण ऐरीले २/२ विकेट लिए।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सम्पन्न प्रतियोगितामा प्रदेशका ८ जिल्लाका टोलीको सहभागीता रहेको थियाे।
प्रदेश छनाेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी राष्ट्रिय प्रतियोगिता खेल्न सुदूरपश्चिमको टोलीमा समावेश गरिनेछ ।
