बैतडी:आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका बैतडीमा एक लाख ५६ हजार ३ सय ७२ मतदाता कायम भएका छन् ।
जसमा ७८ हजार नौसय ८७ पुरुष, ७७ हजार तीनसय ८३ महिला र दुईजना तेस्रो लिङगी रहेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।
हालको मतदाता सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २ सय १६ ले वृद्धि भएको हो । यसअघि १ लाख ५० हजार १५६ मतदाता रहेका थिए ।
उक्त निर्वाचनका लागि बैतडीमा ५ वटा मतदान केन्द्र थपिएका छन् ।
निर्वाचन कार्यालय बैतडीका अनुसार जिल्लाको सिगास गाउँपालिका वडा नं ४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका वडा नं ७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका वडा नं ९को केदार आधारभूत विद्यालय सीम लोडासौं, शिवनाथ गाउँपालिका वडा नं ३ को श्रीपूर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका वडा नं ५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप भएको हो ।
यसैगरी एउटा मतदान केन्द्र घटाइएको छ । मेलौली नगरपालिका वडा नं २ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुई वटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र काटिएको हो ।
गएको निर्वाचनमा २ सय १० ओटा मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि २ सय १४ ओटा मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले बताउनुभयो । मतदानस्थल भने साविककै १ सय २९ नै कायम रहेका छन् ।
यस्तै निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलन कार्यलाई पनि तीव्र बनाएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय तहका कर्मचारी, सुरक्षा निकाय, कारागार तथा वृद्धाश्रममा रहेका व्यक्तिहरूको विवरण सङ्कलन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबिच, जिल्ला निर्वाचन कार्यालय बैतडीले निर्वाचन केन्द्रित आन्तरिक तयारी शुरु गरिसकेको जनाएको छ । निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी, जनशक्ति खोजी तथा व्यवस्थापनको काम प्रारम्भ गरेको छ ।
निर्वाचनको मिति नजिकिदैं जाँदा बैतडी जिल्लामा चुनावी गतिविधि बढ्दै गएको छ । निर्वाचन कार्यालयले आन्तरिक तयारी गर्दा विभिन्न राजनीतिक दलका सम्भावित उम्मेदवारहरू निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय हु्न थालेका हुन् ।

