विनोद सिंह विष्ट/काठमाडौं: कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा मंसिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी साविक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा राखेको छ ।
हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम मात्रै प्लेअफ पुग्ने टोली हो । सुदूरपश्चिम दुई खेल अगावै अपराजित पाँच खेल जितेर प्लेअफमा सुरक्षित भएको हो । साविक उपविजेता समेत रहेको सुदूरपश्चिमले दश अंक जोडेर शिर्ष स्थानमा छ ।
अब उसले विराटनगर किंग र चितवन राइनोजससंग खेल्न बाँकी छ । बाँकी रहेका दुई खेल पनि जितेर सुदूरपश्चिम पहिलो क्यालिफायरमा पुग्ने लक्ष्यमा छ ।
अंकतालिकाको दोस्रो स्थानमा छ खेलमा चार खेल जितेको काठामाडौं गोर्खाज र तेस्रो स्थानमा पाँच खेलबाट आठ अंकनै जोडेको विराटनगर रहेको छ । यी दुबै टोली प्लेअफनजिक छन् ।
चौथो स्थानमा चितवन राइनोज रहेको छ । चार खेलबाट चार अंक जोडेको चितवन पनि प्लेअफको दौडमा छ ।
पाँच खेलबाट चार अंक जोडेको लुम्बिनी लायन्स पाचौं,पाँच खेलबाट एक खेल मात्रै जोडेको कर्णाली याक्स छैटौं ,चार खेलमा दुई अंक मात्रै रहेको पोखरा एभेन्जर्स सातौं र चार खेलमा अंकविहीन रहेको जनकपुर बोल्टस पुछारमा छ ।
पाँच खेलमा नायक बने पाँच फरक खेलाडी
सुदूरपश्चिमको अर्को विषेशता भनेको कुनै एक खेलाडी तथा विदेशी खेलाडीको भरमा खेलेको छैन् ।
लगातार पाँच खेल जित्दा सुदूरपश्चिमका फरक फरक खेलाडी नायक बन्दै प्लेयर अफ द म्याच भएका छन् । जसमा तीन नेपाली र दुई विदेशी खेलाडीले उत्कृष्ट खेलेका थिए ।
उत्कृष्ट खेल्दै टिमलाई जिताउनेमा नेपाली खेलाडीमा स्वयं कप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरी,विनोद भण्डारी र ईशान पाण्डेय रहेका छन् । विदेशी खेलाडीमा हर्मित सिंह र जोश ब्राउन हुन् ।
सुदूरपश्चिमको पहिलो जितमा हर्मित सिंहले अलराउन्ड प्रदर्शन गरे । काठमाडौंलाई २९ रनले हराएको यो खेलमा हर्मितले विस्फोटक पारी खेल्दै २० बलमा दुई चौका र ६ छक्कासहित ५३ रन बनाए । साथै उनले बलिङमा पनि महत्वपूर्ण दुई विकेट आफ्नो नाममा गरे ।
दोस्रो खेलका नायक बनेका जोस ब्राउनले ३५ बलमा ६८ रनको उत्कृष्ट पारी खेले । पोखराविरुद्धको यो खेल सुदूरपश्चिमले १८ रनको जितेको थियो ।
तेस्रो जित निकाल्ने क्रममा कप्तान दिपेन्द्रसिंह ऐरी चम्किए । कर्णालीविरुद्धको उक्त खेलमा ऐरीले ब्याटबाट ३९ र बलिङमा महत्वपूर्ण चार विकेट लिए ।
चौथो जितमा ओपनिङ ब्याटर विनोद भण्डारी ‘म्याच विनर’ बने । लुम्बिनीलाई पराजित गरेको यो खेलमा भण्डारीले अविजित ६९ रन जोडे ।
साविक विजेता जनकपुरलाई हराएर पाचौं जित निकालेको खेलमा ईशान पाण्डेले उत्कृष्ट खेले । उनले ५६ रनको उत्कृष्ट पारी खेले ।
सुदूरपश्चिमले सबैभन्दा बढी नौं जना स्थानीय खेलाडीलाई टिममा राखेको छ । जसमा कप्तान दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, नरेन साउद,दिपेन्द्र थापा र हिक्मत महरा रहेका छन् ।
अर्धशतकमा पनि सुदूरपश्चिमकै खेलाडी अगाडी
प्रतियोगितामा हालसम्म १७ खेलाडीले अर्धशतक हिर्काएकोमा सुदूरपश्चिमकै खेलाडी अग्र स्थानमा छन् । सुदूरपश्चिम चार खेलाडीले अर्धशतक हिर्काएका छन् ।
जसमा विनोद भण्डारी,ईशान पाण्डे, जोश ब्राउन र हरमित सिंह रहेका छन् ।
यस्तै पोखराका कप्तान कुशल भुर्तेल, सुमित बर्माले,एडम रोसिङटन, जिमी निशम पनि अर्धशतक जोडेका छन् ।
विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल ,बसिर अहमदले जनकपुर बोल्ट्सका वायन पार्नेल,संजय कृष्णमुर्ति, आशिफ शेख, काठमाडौं गोर्खाजका जोन सिम्प्सन, कर्णाली याक्सका प्रियान्क पन्चालल,चितवनका राइनोजका रवी बोपराले पनि अर्धशतक पूरा गरेका छन् ।
बोपराको नाममा तीन, भुर्तेल र पन्चालले दुई÷दुई अर्धशतक छन् ।
कर्णालीका मार्क वाट मात्रै जारी प्रतियोगितामा शतक हिर्काउने एकमात्रै खेलाडी हुन् ।
बलिंगमा पनि सुदूरपश्चिमका खेलाडी अभिनाश बोहरा ११ विकेट लिदैं पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा १० विकेट लिएका विराटनगरका कप्तान सन्दीप लामिछाने रहेका छन् । समान १०÷१० विकेट लिएका काठमाडौंका मिलिन्द कुमार,कप्तान करण केसी क्रमश तेस्रो,चौथो तथा ९ विकेट लिएका सुदूरपश्चिमका हर्मित सिंह पाचौं नम्बरमा छन् ।
सबैभन्दा बढी रन जोड्नेमा चितवनका बोपरा रहेका छन् । उनले २०४ रन बनाइसकेका छन् ।
यस्तै दोस्रोमा १८४ रन बनाएका कर्णालीका मार्क वाट, तेस्रोमा १७४ रन जोडेका लुम्बिनीका कप्तान रोहित पौडेल, समान १६५ रन बनाएका कर्णलीका प्रियान्क र सुदूरपश्चिमका विनोद रहेका छन् ।
कीर्तिमानी स्कोर बनाउने विराटनगर,कम बनाउने
जारी प्रतियोगितामा उच्च स्कोर बनाउने टिममा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च बनाउने टिमको सूचीमा भने सुदूरपश्चिम छ । सुदूरले पनि पोखराविरुद्ध नै १९३ रन जोडेको थियो ।
जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा चितवन छ। चितवन काठमाडौं गोर्खाजसँग ८९ रनमा अलआउट भयो ।
यसअघि उक्त खराब रेकर्ड कर्णालीको नाममा थियो । सुदूरपश्चिमविरुद्ध ब्याटिंग गरेको कर्णाली ९४ रनमा समेटिएको थियो ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । आठ टोली सहभागी प्रतियोगितामा ३२ खेल हुनेछन् ।
विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउनेछ ।
