बैतडी: बैतडी कारागारमा आगजनी र तोडफोड गरेर भागेका ६२ कैदीबन्दीमध्ये दशजनालाई प्रहरी नियन्त्रणमा लिइएको छ ।
छ जनालाई आज र चारजनालाई हिजो गरेर दश कैदीबन्दीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
मंगलबार राति कारागारमा आगजनी र तोडफोड गरेर ६२ जना कैदी भागेका थिए । जसमध्ये दशजनामात्रै नियन्त्रणमा रहेका छन् ।
संयुक्त सुरक्षा टोलीले कैदीहरुलाई पाटन,गुरुखोला र गोठलापानीबाट नियन्त्रणमा लिएको प्रजिअ पौडेलले बताउनुभयो ।
अन्य फरार ५२ जनाको खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताउनुभयो । सबै सुरक्षा निकायको संयुक्त टोलीले फरार कैदीलाई खोज्न ‘अप्रेसन’ सञ्चालन गरेको छ ।
उहाँले भन्नुभयो,“ कैदीहरु फरार हुँदा आपराधिक घटना हुनसक्छन् । त्यसैले हामीले अपरेसन नै चलाएर पक्राउ गर्न थालेका हौं । ”
भागेका कैदीहरुलाई आफैं सम्पर्कमा आउन आग्रह गरिएको र नआउनेको हकमा अप्रेसन सञ्चालन गरेको उहाँले बताउनुभयो ।
भारतसंग सीमा जोडिएको जिल्ला भएकोले सीमाक्षेत्रमा पनि कडाई गरिएको छ ।
अनिवार्य रुपमा परिचय खुल्ने कागजपत्र हेरेर मात्रै सीमाक्षेत्रमा आवातआवत गर्न दिइएको जनाएको छ ।
