बैतडी: बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा अषाढी जात्रा शुरु भएको छ ।
हरेक बर्ष सो मन्दिरमा असार शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गरेको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताउनुभयाे । असार शुक्ल अष्टमीको राति भगवतीको बिशेष पूजाआजा हुने गर्दछ ।
अषाढी जात्रामा त्रिपुरासुन्दरी भगवतीको मूल मन्दिरबाट कापडी गाउँमा रहेको मन्दिरमा सवारी हुने चलन रही आएको स्थानीय आनन्दमणी भट्टले बताउनुभयाे।
यो जात्रामा पनि राँगा तथा बोकाको बलि हुने गरेको भट्टले बताए । त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्षको दशैं, कार्तिक शुक्ल अष्टमी, चैते दशैं र असार शुक्ल अष्टमीमा मेला तथा जात्रा लाग्ने गरेको छ ।
त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने मेला तथा जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । यो जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी सहभागिता रहन्छ ।
त्रिपुरासुन्दरी भगवती मन्दिर नेपाल सरकारले घोषणा गरेका एकसय पर्यटकीय गन्त्व्यमा समेत पर्दछ । त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
यसैबीच दशरथचन्द नगरपालिकाले शुक्रबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने अषाढी जात्राको अवसरमा नगरपालिका मातहत रहेका सबै सरकारी कार्यालय, शिक्षण संस्था लगायतका सार्वनिक बिदा रहेको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
