काठमाडौं: रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को उपाधि जितेकाे छ।
फाइनल भिडन्तमा पञ्जाब किंग्सलाई हराउँदै बैंग्लोरले उपाधि जितेको हाे।
पञ्जाबलाई ६ रनले पराजित गर्दै आरसिबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जितेको हो ।
आरसिबी चौथो पटकको प्रयासमा च्याम्पियन भएको हो । यसअघि आरसिबी फाइनलमा सन् २००९ मा डेक्कन चार्जससँग ६ रन, सन् २०११ मा चेन्नई सुपर किंग्ससँग र सन् २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।
पञ्जाब दोस्रो पटक पनि उपविजेतामा सिमित रहेको हो । २०१४ को फाइनलमा पन्जाब कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।
१ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन मात्र बनायो ।
पञ्जाबका शंसाक सिंहले ३० बलमा ३ चौका र ६ छक्कासहुत सर्वाधिक ६१ रन बनाए । इङ्लिसले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३९ रन जोडे ।
कप्तान श्रेयस अय्यर सामना गरेको दोस्रो बलमा नै १ रनमा आउट भए । ओपनर प्रियाशं आर्य २४, प्रभसिमरन सिंह २६ तथा निहाल बढेरा १५ रन जोडे ।
आरसिबीका लागि भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ तथा रोमारियो शेफर्ड, जोस हेजलवुड र यश दयालले समान १ विकेट लिए ।
पहिला ब्याटिङ थालेको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १९० रन बनायाे। अहमदाबादको नरेन्द्र मोदी रंगशालामा खेलिएको खेलमा बैंगलोरका विराट कोहलीले ३५ बलमा ४३ रन बनाए।
पञ्जाबका काइल जेमिसन र अर्शदीप सिंहले ३ विकेट लिए।

