विश्वकप लिग टु: नेपालले स्कटल्याण्डलाई हरायाे,चम्किए करण

काठमाडौं: आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको छ ।
२ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्यो ।

अन्तिम बलमा नेपालको जितका लागि १ रन आवश्यक रहेको थियो । अन्तिम बल मार्क वाटले वाइड फालेपछि नेपालले रोमाञ्चक जित हासिल गरेको हो । करणले सिंगल लिन कुद्दा विकेटकिपरले रिजनलाई रनआउट गरेपनि अम्पायरले वाइड दिएपछि खेल नेपालले जितेको हो ।

नेपालको जितमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे । त्यसअघि सुरुवातमै ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतक बनाएर राम्रो सुरुवात दिलाए । कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे ।

गुलशन कुमार झाले ४२, भीम सार्कीले ४० तथा कप्तान रोहित कुमार पौडेलले ३७ रन हाने।

स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलेनले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ तथा जसपर डेभिडसनले १ विकेट लिए ।

त्यसअघि स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार गर्यो ।

स्कटल्याण्डका लागि चार्ल्स टिएरले सर्वाधिक ८०,
फेन्ली म्याक्रिथले ५५ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।
करण केसी प्लेयर अफ द म्याच चुनिए ।

जितसँगै ८ टोली सहभागी लिग टु मा नेपाल १३ खेलमा ८ अंकका साथ सातौं स्थानमा छ । पराजित स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ ।

विश्वकप लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

यस त्रिकोणात्मक सिरिजमा नेपाल र स्कटल्याण्ड अलावा नेदरल्याण्ड्सको समेत सहभागीता रहेको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!