पञ्जाबलाई हराएर बैंगलुरु फाइनलमा प्रवेश

काठमाडौं: रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल)काे फाइनलमा प्रवेश गरेको छ।

पहिलो क्वालिफायरमा पञ्जाब किंङ्सलाई ८ विकेटले हराएर बैंगलुरु फाइनलमा पुगेको हाे।

पहिलाेपटक आइपिएलकाे उपाधि जित्ने लक्ष्यमा रहेकाे बैंगलुरु १० वर्षपछि फाइनलमा पुगेकाे छ।

जितका लागि पाएकाे १ सय २ रनको लक्ष्य बैंगलुरुले १० ओभरमा २ विकेटको क्षतिमा सहज रूपमा पार गर्याे । जसमा फिल साल्टले अर्धशतक हिर्काए। उनी ५६ रनमा अविजित रहे।

यसअघि न्यु चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाब निर्धारित २० ओभरको खेलमा १४.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमा समेटियो।

आरसिबीका बलर सामु कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। मार्कस स्टोनिसले सबैभन्दा बढी २६ रन तथा प्राभसिम्रन सिंह र अज्मतुल्लाह ओम्रजाइले समान १८ रन बटुले।

यी तीन बाहेक अन्य ब्याटरले दोहोरो रन छुन सकेनन्।

बलिङमा सानदार प्रदर्शन गरेको आरसिबीको लागि सुयष शर्माले सबैभन्दा किफायती बलिङ गरे। ३ ओभरमा १७ रन दिएर ३ विकेट लिए।

यस्तै जोश हेजलउडले पनि ३ विकेट झारे। उनले ३ ओभर १ बलमा २१ रन खर्चेर ३विकेट लिए। यश दयालले २ विकेट झारे।

पञ्जाबले इलिमिनेटर खेलको विजयी टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ।

शुक्रवार हुने इलिमिनेटर खेलमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सको सामना गर्नेछ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!