लखनउमाथि सनसनी जित,बेंगलुरु पहिलो क्वालिफायरमा,ऋषभ पन्तकाे शतक खेर

काठमाडौं: लखनउ सुपर जायन्ट्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा सुरक्षित भएको छ ।

लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा मंगलवार आरसिबीले लखनउलाई ६ विकेटले हरायो । २ सय २८ रनको विशाल लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

आरसिबीको जितमा कप्तान जितेश शर्मा र विराट कोहलीले अर्धशतकीय इनिङ खेले । कप्तान शर्माले ३३ बलमा ८ चौका र ६ छक्काको सहयोगमा अविजित ८५ रनको योगदान गरे। कोहलीले ३० बलमा १० चौका सहित ५४ रन जोडे ।

मंयक अग्रवाल २३ बलमा ५ चौकाको सहयोगमा ४१ रनमा नट आउट रहे । पाँचौ विकेटका लागि कप्तान शर्मा र अग्रवालले १ सय ७ रनको नट आउट विजयी साझेदारी गरे ।

लखनउका विल ओरुकले २ तथा आवेस खान र आकाश सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस आरसिबीले टस जितेर ब्याटिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो ।

लखनउका कप्तान ऋषभ पन्तले शतकीय इनिङ खेले । पन्तले ६१ बलमा ११ चौका र ८ छक्काको सहयोगमा नट आउट १ सय १८ रन बनाए ।

पन्तले दोस्रो विकेटका लागि ओपनर मिचेल मार्शसँग १ सय ५२ रनको साझेदारी गरे । मार्शले ३७ बलमा ४ चौका र ५ छक्कासहित ६७ रनको अर्धशतकीय इनिङ खेले ।
आरसिबीका लागि रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान १ विकेट लिए ।

लखनउ यसअघि नै प्लेअफबाट बाहिरिसकेको थियो ।

विजयी आरसिबीले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।

अब फाइनल प्रवेशका लागि आरसिबीले बिहीवार पञ्जाब किंग्ससँग खेल्नेछ ।

आरसिबीकाे जितसँगै गुजरात टाइटन्सले इलिमिनेटर खेल्नु पर्ने भएकाे छ ।
गुजरातले शुक्रवार मुम्बई इण्डियन्ससँग इलिमिनेटर खेल्नेछ ।‌

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!