विश्वकप छनोट: नेपाल र हङकङबीचको खेल वर्षाले रद्द
काठमाडौं: थाइल्याण्ड जारी आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्र्तगत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
खेल रद्द भएपछि दुबै टोलीले अंक बाँडेका छन् ।
.बैंककस्थित टेक्नोलोजी मैदानमा बिहान सवा ८ बजेदेखि सुरु हुने तय भएपनि टस नै नभइकन खेल रद्द भएको हो ।
गएराति भएको वर्षाका कारण वेट आउटफिल्ड रहेको थियो र टस पनि समयमा हुन सकेको थिएन ।
नेपालले दोस्रो खेलमा भोलि शनिबार बहराइनसँग खेल्ने छ । उक्त खेल तेरथाइ क्रिकेट मैदानमा हुनेछ । आजै भएको पहिलो खेलमा थाइल्याण्डले कुवेतलाई हराएको छ ।
९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ ।
लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।
प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।
