बैतडी: सवारी दुर्घटना न्यूनीकरणका लागि बैतडीसहित सुदूरपश्चिम प्रदेशभरी ‘ट्याक्टर बहस’सञ्चालन गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयले प्रदेशका ९ ओटै जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’ सञ्चालनमा ल्याएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।
प्रदेशका ९ ओटै जिल्लामा सञ्चालन भइरहेको यो कार्यक्रम जनचेतनामूलक रहेको छ । उहाँले भन्नुभयो,“ प्रदेश प्रहरी कार्यालयको नविनतम कार्यक्रमअनुसार ट्याक्टर बहस कार्यक्रम सञ्चालन भइरहेको छ । यसले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग मिल्ने विश्वास छ ।”
खास गरेर सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा जन्ती र मलामी बोक्दा ट्याक्टर दुर्घटना हुने गर्दछन् । त्यसकै लागि ‘ट्याक्टर बहस’सञ्चालन गरिएको हो । पछिल्लो समय पहाडी जिल्लामा पनि सडक पहँुच रहेका क्षेत्रमा जन्ती र मलामी ट्याक्टरमा बोक्दा दुर्घटना हुने गरेको छ ।
ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामा अधिकांश ट्याक्टर दुर्घटना हुने गरेकाले सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’ सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख,प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताउनुभयो ।
यो बहसमा सवारी चालक, सवारी धनी, सर्वसाधारण सबैलाई सहभागी गराएर सवारी दुर्घटना न्यूनीकरणका बिषयमा जानकारी दिने गरिएको छ । उहाँले भन्नुभयो,“ समान ढुवानी गर्ने ट्याक्टरमा मान्छे बोक्नु हुन्न भन्ने सन्देश दिन र दुर्घटना न्यूनीकरणका लागि यो बहस सञ्चालन गरेका हौं ।”
ट्याक्टरलाई व्यापारिक प्रयोजन र विभिन्न वस्तुहरुको ढुवानीका लागि प्रयोग गर्नुपर्ने भएपनि यात्रुहरु समेत बोक्ने गरेको पाइएकाले बहसको नाम नै ट्याक्टर बहस राखिएको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।
बहसमा सवारी साधन सञ्चालन ऐन लगायतका बिषयमा जानकारी दिने,ट्याक्टर चालकहरुले लाइसेन्स बिना चलाउने गरेको पाइएकाले त्यसो नगर्न बहसमा सचेत गराइने गरिन्छ । उहाँले भन्नुभयो,“सवारी दुर्घटना न्यूनीकरणका लागि यो बहस सञ्चालनमा ल्याएका हौं । ग्रामीण क्षेत्रमा धेरैजसो ट्याक्टर दुर्घटना हुने भएकाले हामीले यसलाई ट्याक्टर बहस नाम दिएका हौं ।”
यस्तै अवैध रुपमा उत्खनन गरिएका नदीजन्य पदार्थको ढुवानी समेत ट्याक्टर प्रयोग हुने गरेको पाइएकाले त्यस्ता वस्तुहरु ढुवानी नगर्न प्रहरीले बहसमार्फत सचेत गराएको छ । क्षमताभन्दा बढी लोड नबोक्न आग्रह गर्नुका साथै ढुंगा, बालुवा, गिट्टी लगायतका सामग्री ढुवानी गर्दा छोप्नुपर्ने बिषयमा समेत सचेत गराइएको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।
बैतडीको सतबाँझ र देहिमाडौंमा सञ्चालन गरिएको ‘ट्याक्टर बहस’ अन्य स्थानमा पनि सञ्चालनको तयारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बहसमा जनप्रतिनिधिलाई समेत सहभागी गराइने गरिएको छ ।
