काठमाडौं: विभागीय टोली त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
डिफेन्डिङ च्याम्पियन आर्मीले समुह ए अन्तर्गतको खेलमा सोमबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो।
दुवै खेलमा जित दर्ता गर्ने क्रममा आर्मीले अघिल्लो खेलमा एपीएफलाई पराजित गरेको थियो। दुवै खेलमा हारपछि बागमती तथा एक जित र एक हार बेहोरेको एपीएफ समुह चरणबाट बाहिर भयो।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ९७ रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले १७.३ ओभरमा ५ विकेट गुमाएर भेटायो।
लक्ष्य पछ्याउने क्रममा आर्मीको लागि निश्चल क्षेत्रीले सर्वाधिक ४६ रन बनाए जुन क्रममा उनले ५५ बलमा ८ चौका प्रहार गरे। हिमांशु दत्ताले १८ रन बनाए।
बागमतीको बलिंगमा दयानन्द मण्डलले २ विकेट, तिलक राज भण्डारी र आदील खानले १र१ विकेट लिए।
वर्षाका कारण आउटफिल्ड भिजेका कारण ढिला सुरु भएपछि २६ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिंग गरेको बागमतीले २४.३ ओभरमा ९६ रनमा सबै विकेट गुमायो।
बागमतीको ब्याटिंगमा सचिन लेखकले सर्वाधिक ३४ रन योगदान दिए। लेखकले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे। प्रतिक श्रेष्ठले १५ तथा आदील खानले १० रन बनाए।
आर्मीको बलिंगमा देब्रे हाते स्पिनर नरेन साउदले सर्वाधिक ५ विकेट लिए।
लगातार दोश्रो खेलमा प्लेयर अफ द म्याच घोषित भएका साउदले ६ ओभरमा १ मेडन ओभर गर्दै १९ रन खर्चिए।
दुर्गेश गुप्ताले २ विकेट लिंदा तुल बहादुर थापा, सुमित श्रेष्ठ र बिशाल सुश्लिंगले १र१ विकेट लिए।
प्रतियोगिता अन्तर्गत मंगलबार समुह बि अन्तर्गतको खेलहरु सुरु हुनेछन्। मंगलबारको खेलमा कोशी प्रदेशले विभागीय टोलि नेपाल पुलिस क्लबसंग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा शशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन्।
समुह ‘बि’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन्।
प्रतियोगिताको विजेता टोलीले रु ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ ।
उपविजेता टोलीलाई रु २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।
