बैतडी: मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा बैतडीको पाटन नगरपालिका वडा नं. ९, स्थित सिद्धेश्वर माध्यमिक विद्यालयले वृद्धआमाहरुलाई सम्मान गरेको छ ।
विद्यालयमा आज एक समारोहको आयोजना गरेर वृद्धआमाहरुलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउनुभयो ।
औँसीको अवसरमा विद्यालय सेवाक्षेत्र भित्रका जेष्ठ ६ जना आमाहरुलाई विद्यालयमा बोलाएर एक समारोहका बिच माला, टिका, खादा लगाउदै फलफूल र मिष्ठान्न दिएर आदरपूर्वक सम्मान गरिएको हो ।
उहाँले भन्नुभयो,“ जसले स्नेह र संस्कारको बाटो देखाउनुभयो, ती हुन् हाम्रा आमाहरु, आमाहरूको आजीवन समर्पण र मायाप्रति गहिरो श्रद्धा र कृतज्ञता व्यक्त गरिएको यस कार्यक्रमबाट, विद्यार्थीहरूले जेष्ठ आमाप्रतिको आदरभाव, संस्कार र सेवा भाव सिक्ने भएकोले सम्मान कार्यक्रम राखेका हौं । ”
यो सम्मान कार्यक्रमले नयाँ पुस्तामा संस्कार, कृतज्ञता र सामाजिक उत्तरदायित्व को चेतना थप गहिरो बनाउने अपेक्षा गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटको अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र जनप्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।
विद्यालयले हरेक वर्ष मातातीर्थ औँसीको अवसरमा विद्यालय सेवा क्षेत्र भित्रका आमाहरुलाई र कुशे औँसीको अवसरमा वृद्ध बुवाहरुलाई सम्मान गर्दै आइरहेको छ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।
छोराछोरीले आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ।
