बैतडी: नयाँ शैक्षिक शत्रको विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ । भर्ना अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालनको तयारी भएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ शिक्षाका सबै अधिकार स्थानीय तहलाई दिइएको छ । भर्ना अभियान पनि स्थानीय तहले गर्ने भएकाले प्रभावकारी रुपमा सञ्चालन गर्न भनेर जिल्लाका सबै स्थानीय तहहरुलाई पत्राचार गर्ने तयारी गरेका छौं ।”
प्रभावकारी ढंगले भर्ना अभियान सञ्चालन गर्न पहिलो चरणमा जिल्लाका १० वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख र सामाजिक विकास शाखा प्रमुखहरुसंग छलफल गरिएको छ ।
आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने भर्ना अभियानलाई प्रभावकारी बनाउन शिक्षा शाखा प्रमुख र सामाजिक विकास शाखा प्रमुखहरुसंग छलफल गरिएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले बताउनुभयो ।
कोही पनि बालबालिकाहरु विद्यालय बाहिर नरहुन भनेर भर्ना अभियानलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको हो । उहाँले भन्नुभयो,“स्थानीय तहहरुले प्रचारप्रसार गरि भर्ना अभियान सञ्चालन गर्छन्,जसमा घरदैलो कार्यक्रम पनि हुनेछ ।”
कतिपय बालबालिकाहरु अझै पनि विद्यालय बाहिर रहेकाले उनीहरुलाई विद्यालयको पहुँचमा ल्याउन भर्ना अभियानले सहयोग पुग्ने दोगडाकेदार गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत चक्रदेव जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“भर्ना अभियान सञ्चालन गरेर विद्यालय बाहिर कुनै बालबालिका रहेमा उनीहरुलाई विद्यालयको पहुँचमा ल्याउने काम गछौं । ”
