काठमाडौं: एसिसी एसिया कप क्रिकेट आगामी सेप्टेम्बरमा हुने भएको छ । यस पटक प्रतियोगिता ट्वान्टी-२० फर्म्याटमा खेलाइने छ ।
एसिसीले प्रतियोगितामा दुई टोली थप गरेको छ। यसअघि अन्तर्राष्ट्रिय क्रिकट परिषद् (आइसिसी) का पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सीधै प्रतियोगितामा सहभागिता जनाउने गरेका थिए ।
यस्तै, एसिसी प्रिमियर कप विजेता एक एसोसिएट राष्ट्रले प्रतियोगितामा स्थान बनाउँदै आएका थिए । तर यस पटक दुई एसोसिएट राष्ट्र थपिने भएका छन् ।
एसिसी प्रिमियर कपका शीर्ष तीन टोली युएई, ओमान र हङकङले एसिया कप खेल्नेछन् । गत संस्करणको एसिया कप खेलेको नेपाल प्रिमियर कपमा चाैथो स्थानमा रहेकाले यस पटक देखिने छैन ।
एसिया कप भारतले आयोजना गर्दैछ । तर भारत-पाकिस्तानको सम्बन्धका कारण आयोजनास्थल परिवर्तन सम्भावना सम्भावना बढेको छ। रिपोर्टअनुसार प्रतियोगिता श्रीलंका वा युएईमा हुन सक्छ।
आयोजकको रूपमा भने बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसीआई) नै रहनेछ ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।
सुपर फोरका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
