शिवालयमा शिवरात्री मेला सम्पन्न,वनारसी धाम विश्वनाथमा महारुद्राभिषेक

 बैतडी: महाशिवरात्रिको अवसरमा बैतडीका विभिन्न ठाउँमा रहेका शिव मन्दिर तथा शिवालयहरुमा शिवरात्री मेला सम्पन्न भएको छ।
शिवरात्री मेला तथा दर्शनका लागि यहाँका शिव मन्दिर तथा शिवालयहरुमा भक्तजनको घुइँचो लागेकाे हाे।

सुर्नया गाउँपालिका–२ स्थित पाताल भुवनेश्वर धाम ,दशरथचन्द नगरपालिका–४ स्थित देवलहाट मन्दिर,ईश्वरी गंगा धाम, पाटनस्थित स्वर्गेनी पिपलधाम, खोड्पे शिव मन्दिर, शंकरपुरको शिवालय, मेलौलीको गेरडास्थित शिवधाम,गाेकुलेश्वरलगायतका स्थानमा महाशिवरात्रीको अवसरमा मेला लागेको हाे।

महाशिवरात्रीको अवसरमा पाताल भुवनेश्वर धाममा ठूलो मेला लाग्ने र यो मेलामा जिल्लाका विभिन्न ठाउँबाट दर्शनार्थीहरु पुग्ने गरेका छन् । 

महाशिवरात्रीकै अवररमा पाताल भुवनेश्वर धाममा आज धार्मिक प्रवचन समेतको आयोजना गरिएको सुुर्नया गाउँपालिका–२ का अध्यक्ष गणेशबहादुर बिष्टले बताउनुभयाे।

चारैतिर वनजंगलले घेरेको बीचमा प्राकृतिक ताल रहेको पाताल भुवनेश्वर धाममा एउटा मुख्य गुफा र अन्य चारओटा गुफा रहेका स्थानीय जानकारहरुले बताएका छन् । सडकबाट झण्डै आधाकिलोमिटरको दुरीमा रहेको पातालभुवनेश्वरधाममा पुग्न पदमार्ग निर्माण गरिएको छ भने पछिल्लो समयमा मन्दिर निर्माणको काम समेत अघि बढाइएको छ । 

२०७२ सालमा जर्मन गुफा बिशेषज्ञहरुको टोलीले गरेको अध्ययन अनुसार पातालभुवनेश्वरगुफा दक्षिण एसीयाकै लामो गुफा हुन सक्ने अनुमान गरेको थियो । 

पातालभुवनेश्वरधाम अग्लो डाँडोमा अवस्थित भएपनि धाममा कहिले नसुक्ने प्राकृतिक ताल रहेको छ । पछिल्लो समयमा संरक्षणको अभावमा ताल सुक्ने खतरा बढ्दै गएको स्थानीयबासी बताउँछन् । पाताल भुवनेश्वर धामको बारेमा स्कन्द पुराणको मानसखण्डमा समेत उल्लेख गरिएको पाइन्छ । 

भगवान विष्णुले राजा बलिलाई सोही गुफाबाट पाताल पठाएको र सोही बेलादेखि पातालभुवनेश्वर नाम रहेको बताईएको छ । यस्तै अर्को प्रसंगमा भगवान शिवले सतीको पार्थिव शरीरलाई बोकेर पृथ्वी घुम्ने क्रममा सतीदेवीको पैताला खसेर पातालभुवनेश्वर शिवशक्तिको रुपमा स्थापित भएको किम्वदन्ती छ । 

यस्तै पाटन नगरपालिका–३ स्थित प्रसिद्ध वनारसी धाम विश्वनाथमा महाशिवरात्रिको अवसरमा महारुद्राभिषेक शुरु गरिएको छ । 

सुर्नया नदीको तटमा अवस्थित वनारसी धाममा पछिल्लो समयमा विश्वनाथ ज्योतिर्लिङ्ग स्थापना गरिएको छ । विश्वनाथ ज्योतिर्लिङ्गमा महारुद्राभिषेको आयोजना गरिएको वनारसी धाम विश्वनाथ सेवा समाजका अध्यक्ष उत्तरबहादुर चन्दले बताउनुभयाे

महाशिवरात्रिको अवसरमा आयोजना गरिएको महारुद्राभिषेक फागुन १७ गते समापन गरिनेछ । 

११ जना बाह्रमणहरुद्वारा महारुद्राभिषेक यज्ञको आयोजना गरिएको पण्डित गणेश पन्तले बताउनुभयाे । 

पौराणि सरयु नदी अर्थात सुर्नया नदीको किनारमा अवस्थित वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको जानकारहरुले बताएका छन् । महाशिवरात्रिको अवसरमा पछिल्लो समयमा विश्वानाथ धाममा महारुद्राभिषेकको आयोजना गरिँदै आएको छ।

देवलहाटस्थित शिव मन्दिरमा पुजा र अखण्ड कीर्तन आयोजना गरिएको छ। अन्य मन्दिरहरूमा पनि भक्तजनकाे भीड रहेकाे स्थानीयबासिन्दाले बताएका छन्।
महाशिवरात्रीकै अवसरमा गाेकुलेश्वर र स्वर्गेनी पिपलधाममा कृषि प्रदर्शनी मेला समेत सुरू भएकाे छ।

कृषि मेलामा स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्नुका साथै नवप्रवर्तन र सीप आदान–प्रदानलाई प्रोत्साहित गरिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!