फाप्ला: कुशल भुर्तेल चम्किएपछि फ्रेन्ड्स युथ क्लब डडेल्धुरा कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटकाे फाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको पहिलो सेमिफाइनलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा उपाधिनजिक पुग्याे।
जितका लागि पाएकाे ८३ रनको सामान्य लक्ष्य डडेल्धुराले १५ ओभरमा ५ विकेट क्षतिमा पुरा गर्यो।
जसमा कुशल भुर्तेलले ४६ रनको पारी खेले। २५ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका प्रहार गरे। कुशल र आयुष्मान बमकाे पहिलाे विकेटका लागि ५६ रनको अर्धशतकीय साझेदारी भयाे। आयुष्मानले १६ रन बनाए।
बुटवलका लागि प्रिन्स पालले सर्वाधिक ३ विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन्।
यसअघि फाप्ला क्रिकेट मैदानको टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले १६.१ ओभरमा सवै विकेट क्षतिमा ८२ रनमा समेटियो। बुटवलका लागि आरिफ खानले सर्वाधिक २०, दिपक डुम्रेले १८ रन र निश्चल ज्ञवालीले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक बनाउन सकेनन् । बुटवलका तीन खेलाडी शुन्यमा आउट भए।
बुटवलको पारी ध्वस्त बनाउने क्रममा कुशल भुर्तेलले १० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । यस्तै अजय चौहानले तीन,हेमन्त धामी र अशोक धामीको नाममा एक एक विकेट रह्यो।
व्यक्तिगत ४६ रन र पाँच विकेट हात पारेका डडेल्धुराका कुशल भुर्तेल प्लेयर अफ द म्याच भए। उनले नगद १० हजार सहित ट्रफी पाए।
प्रतियोगिता अन्तर्गत भोली प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा समुह बी को विजेता सिवाईसी अत्तरिया र समुह ए को उपविजेता डिसिए धनगढी भिड्नेछन् ।
नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन।

