अर्जुन ट्रफीः झापाकाे जितले डडेल्धुरा र धनगढी सेमिफाइनलमा

फाप्ला: धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले सान्त्वना जित हात पारेपछि फेण्ड्स युथ क्लब डडेल्धुरा र डिसिए धनगढी सेमिफाईनल पुुगेका छन् ।

समुह ए मा रहेको बोष्टन क्रिकेट झापाले घोडाघोडी–११ माथि १ रनकाे रोमाञ्चक जित हासिल गरेपछि धनगढी र डडेल्धुरा अन्तिम चारमा पुगेका हुन् ।

समान चार अंक रहेको फेण्ड्स युथ क्लब डडेल्धुरा दुई खेलमा दुई जित सहित रनरेटको आधारमा शिर्ष स्थानमा रहेको छ । डिसिए धनगढी तीन खेलमा दुई जित र एक हार सहित समुहको दोस्रो स्थानमा रहेको छ ।
तीन खेलमा दुई हार र एक जित सहित बोष्टन क्रिकेट झापा दुई अंक सहित तेस्रो स्थानमा रहेर प्रतियोगिता सक्काएको छ । डडेल्धुरा र घोडाघोडी–११ ले लिग चरणको अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा घोडाघोडी–११ ले जित हात पार्दा पनि शिर्ष दुई भित्र नपर्ने भएकोले डडेल्धुरा र धनगढी अन्तिम चारमा प्रवेश गरेका हुन् ।

आज भएकाे दोस्रो खेलमा फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै बोष्टन क्रिकेट झापाले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा एक सय ६१ रन बनायो ।
झापाका लागि रोशन शाहले विष्फोटक पारी खेल्दै १५ बलमा ४१ रन बनाए । उनले ५ छक्का र एक चौका प्रहार गरे । यस्तै झापाका लागि अभिषेक कार्कीले १८ बलमा अविजित ३७ रन, रोहन विकले पनि ३७ रन र पवन कार्कीले २० रन बनाए ।

घोडाघोडी–११ का लागि कप्तान शेर मल्लले दुई विकेट लिए । नरवहादुर सार्की, नरेन साउँद, आयुव चन्द र सौर्य श्रेष्ठले एक एक विकेट लिए ।
एक सय ६२ रनको लक्ष्य लिएर मैदान उत्रिएको घोडाघोडी–११ ले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा एक सय ६० रन मात्रै बनाउन सक्यो ।
उसका लागि दिनेश रावतले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले ४० बलको सामना गर्दै ५ छक्का र चार चौका हिर्काएका थिए । यस्तै आयुव चन्दले २४ रन, दिपक टमाट्टाले १९ रन र कप्तान शेर मल्लले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन् ।

झापाका लागि अभिषेक कार्कीले ३ विकेट लिए । अरुण ऐरी र रमेश भट्टले एक एक विकेट लिए । खेलमा १५ बलमा ४१ रन बनाएका झापाका रोशन शाह प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन्।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!