काठमाडौं: आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । समूह डीमा रहेको नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग १ विकेटले पराजित हुँदा सुपर सिक्स पुग्ने सम्भवना निकै कमजोर भएको छ । नेपालले दिएको लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको हो ।
मलेसियामा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै १८.५ ओभरमा ७३ रन बनाएर अलआउट भयो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् ।
४३ बल फेस गर्दा ३ चौका प्रहार गरिन् । यसैगरी सावित्री धामीले ११ बलमा १० रन बनाउँदा १ चौका प्रहार गरिन् । त्यसबाहेक अरु कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । तेस्रो ठूलो स्कोरको रुपमा अनु कडायतले नटआउट ५ रन बनाएकी थिइन् । स्कटल्याण्डकी मैसी मैसीराले सर्वाधिक ५ विकेट लिइन् । उनले ३.५ ओभरमा १५ रन खर्चिएकी थिइन् । यसैगरी एमी बाल्डी र नइमा शेखले दुई दुई विकेट लिए ।
७४ रनको लक्ष्यसहित मैदान उत्रिएको स्कटल्याण्डको सुरुआत भने राम्रो भएन । ओपनर पिपा केली र इमा वालसिंघम क्रमश सून्य र १ रनमा पभेलियन फर्किए । विकेटकिपर ब्याटर पिपा स्पोरुलले ४७ बलमा ३५ रन बनाउँदा ३ चौका प्रहार गर्दै स्कटल्याण्डलाई जितको आधार तयार गरिन् । गेवरिला फोन्टेलाले ९ बलमा १२ रनको नटआउट पारि नै दोस्रो ठूलो रन रहेको थियो ।
नेपाली बलरले स्कटल्याण्डमाथि दबाब बनाए पनि अल आउट गर्न असफल भयो । नेपालका लागि रचना चौधरी र अनु कडायतले समान दुई दुइ विकेट लिए । पूजा महतो र कृष्मा गुरुङले एक एक विकेट लिँदा ३ खेलाडी रनआउट भएका थिए ।
स्कटल्याण्डको यो पहिलो जीत हो भने नेपालको लगातार दोस्रो हार हो ।
