धनगढी: अर्जुन ट्रफी राष्ट्रिय टि-२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता यही माघ १९ गतेदेखि हुने भएकाे छ।
माघ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन्।
धनगढी क्रिकेट एकेडेमीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रफी सार्वजनिक गरिएको छ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले ट्रफी अनावरणका साथ सार्वजनिक गर्नुभयाे ।
यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएर प्रतियोगिता आयोजना गर्न लागेको गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् ।
प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
लिगकम नकआउटका आधारमा आयोजना हुने
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहनेछ ।
प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराईजन बुटवल, दशरथचन्द एकेडेमी बैतडी र वेस्टर्न क्रिकेट झापाको सहभागीता जनाउनेछन् ।
प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ ।
ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् ।
सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।
सुदूरपश्चिमको क्रिकेट विकासका योद्धाको रुपमा रहेका अर्जुन खड्का सुदूरपश्चिमको क्रिकेट विकासमा लामो समयदेखि सक्रिय थिए । आफ्नो जीवनको करिव ३० वर्ष क्रिकेटमा बिताएका अर्जुनको विसं २०७२ मा ४५ वर्षको उमेरमा निधन भएको थियो ।
उहाँकै सम्झनामा प्रतियोगिता हुन लागेको हाे।

