एनपीएल: प्रत्यक्ष प्रसारणकाे सम्झौता स्टार स्पोर्ट्ससँग गरेकाेमा विरोध

काठमाडौं:नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग सम्झौता गरेकाेमा विराेध भएकाे छ।

क्यानले एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्ससँग गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता गर्ने क्रममा गम्भीर त्रुटि भएको सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै आरोप लगाएका छन् ।

नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सद्वारा जारी संयुक्त विज्ञप्तिमा ‘केही कानुनी र केही नैतिक तथ्यहरूमा अवैधानिक, गैरकानुनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरू जानाजान वा भुलवश हुन गएको’ आरोप लगाइएको छ ।

क्यानले सरकारले विदेशी च्यानलहरूमाथि लागु गरेको विज्ञापनरहित नीति र नियमहरू एनपीएल प्रत्यक्ष प्रसारणको क्रममा उल्लंघन गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताको क्रममा क्यानले देशको कानुन उल्लंघन गरेको तीन संघको जिकिर छ ।

प्रतियोगिताका खेलहरूको उत्पादन, प्रत्यक्ष प्रसारण र बजार व्यवस्थापनको जिम्मा बिना प्रतिस्पर्धा एउटा विदेशी कम्पनीलाई दिएको र क्यान जस्तो सार्वजनिक संस्थाले नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनको धारा ४४ को बुँदा नं. २ लाई पूर्ण बेवास्ता गरेको तीन संघको आरोप छ ।

खेलकुद ऐनको उक्त धारामा ‘कुनैपनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्दा कुनैपनि अन्तर्राष्ट्रिय संस्थासँग सम्झौता गर्दा मन्त्रिपरिषदको स्वीकृति अनिवार्य रहेको’ तीन संघले जिकिर गरेका छन् ।

क्यानले यसक्रममा गरेका त्रुटिहरू नसच्याए कानुनी दायरामा ल्याउने चेतावनी ती संघहरूले दिएका छन् ।
 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!