काठमाडौं: नवौं संस्करणको एसिसी महिला एसिया कपको उपाधि भिडन्त आज हुदैछ।
श्रीलंकाको डम्बुलामा रहेको रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने उपाधि भिडन्तमा भारत र श्रीलंका आमनेसामने हुनेछन् ।
साविक विजेता समेत रहेकाे भारत श्रीलंकालाई हराउँदै कीर्तिमानी आठौं पटक उपाधि जित्ने याेजनामा छ। घरेलु मैदानको फाइदा उठाउदै श्रीलंका पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।
गत संस्करणको फाइनलमा पनि श्रीलंकालाई ८ विकेटले हराउँदै भारत सातौं पटक च्याम्पियन बनेको थियो।
भारत र श्रीलंकाले अपराजित रुपमा फाइनलमा स्थान बनाएका हुन् ।
महिला एसिया कपमा भारत बाहेक बंगालादेशले मात्र एकपटक उपाधि जित्न सफल भएको छ।
