सुदूरपश्चिमः बत्ती बाल्ने महिना सुरु,शक्तिपीठमा भक्तजनको भीड

बैतडी:
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि साउनको महिना बत्ती बाल्ने महिनाका रुपमा मनाइँदैछ । धार्मिक महिनाका रुपमा समेत चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ । साउने सक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो ।

साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको हो । उहाँले भन्नुभयो,“साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्, हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान बैकुण्ठमा बस्ने गर्छन् ।”
शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ । आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।
बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको दशरथचन्द नगरपालिका २ का दीपेन्द्र बोहराले बताउनुभयो ।
जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम,देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन् ।
श्रावण महिनाभरी मन्दिरमा राती जाग्राम बस्ने र बत्ती बाल्ने चलन रही आएको छ । जिल्लाबाट बसाइसरेकाहरु पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन् ।

बत्ती बाल्ने महिना शुरु भएसंगै यहाँका शक्तिपीठहरुमा दर्शनाथीको भीड समेत लागेको छ ।

ह¥यालो हालिदैं

सुदूरपश्चिममा आज खेतबारीमा रोगब्याधी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको ह¥यालो हाल्ने चलन छ ।
ह¥यालो हाल्ने भन्नाले कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई बुझिन्छ । साउनको महिना देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर ह¥यालो हाल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो ।
देवीदेवता शयन गर्ने भएकाले बालीनालीमा रोगव्याधि नलागोस् भनेर ह¥यालो हाल्ने गरिन्छ, सङ्क्रान्तिका दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दानदक्षिणा दिने पनि गरिन्छ । यस्तै साउनमा खिर पकाएर खाने तथा पराइघर गएका चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ ।

यसकासाथै असार महिनाभर हिलामा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतो आदि आउन सक्ने भएकाले जिउलाई सफासुग्घर गरी यस दिन लुतो फाल्ने गरिन्छ । गाउँघरमा यस दिन साँझ अँगेनामा कुरिलो र तितेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने गरिन्छ । त्यसरी लुतो फालिसकेपछि जिउमा घाउ, खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ ।
साउन महिनालाई पवित्र महिना मानिन्छ । साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ ।
यससँगै साउनको महिनादेखि चाडपर्व सुरु भएको समेत मानिन्छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!