बैतडी: वाई वाई उन्नाइस वर्षमूनीकाे पुरूष सुदूरपश्चिम प्रदेशस्तरीय एकदिवसीय क्रिकेट छनाेट प्रतियोगिता सम्पन्न भएको छ। दशरथचन्द खेलमैदान सुन्दरखालीमा सम्पन्न फाइनल खेलमा कञ्चनपुरलाई ४ विकेटले पराजित गर्दै डडेल्धुराले उपाधि जितेको छ।
कञ्चनपुरले दिएको २११ रनकाे लक्ष्य डडेल्धुराले ३७.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। डडेल्धुराकाे जितमा निराजन गाैतम नायक बने। म्यान अफ दी फाइनल समेत चुनिएका निराजनले ब्याटबाट ८० रन र बलिङमा २ विकेट लिए। यस्तै मनिष जाेशीले ४४ र भरत कुँवरले ३४ रनकाे याेगदान गरे।
कञ्चनपुरका अंकित चन्द र जनक सुनारले २/२ विकेट लिए।
यसअघि पहिला ब्याटिङ कञ्चनपुर ३८.४ ओभरमा २१० रनमा समेटियो । उसका राहुल चन्दले सर्वाधिक ६६ रन जाेडे।
डडेल्धुराका सुवेश रावल,यश कुमार कठायत, तपेन्द्र बाेहराले २/२ विकेट झारे।
यसैबीच बैतडीका विक्रम बाेहरा म्यान अफ दी सिरिज र बेस्ट ब्याटर चुनिएका छन्। उनले १५३ रन र ७ विकेट हात पारेका थिए।
डडेल्धुराका यश कुमार कठायत बेस्ट बलर भएका छन्। उनले व्यक्तिगत १० विकेट लिएका स्काेरर अनिल विष्टले जानकारी दिनुभयो ।
समापन समाराेहमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द,केन्द्रीय सदस्य विक्रम विष्ट,प्रदेश अध्यक्ष बासुदेब जाेशी,उपाध्यक्ष रमेश बाेहरा,सचिव लक्ष्मणदत्त भट्ट,काेषाध्यक्ष दिनेश सिंह, प्रदेश क्रिकेटका प्रमुख छनाेटकर्ता दीपेन्द्र भण्डारी,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लाेगराज जाेशी,उपाध्यक्ष सिद्धराज बाेकटी,सचिव श्यामबहादुर चन्द,डडेल्धुरा क्रिकेट संघका सचिव निरज रावललगायतको उपस्थिति रहेकाे थियाे।
असाेज २४ गतेदेखि सुरू भएको प्रतियोगितामा प्रदेशका ८ टाेलीकाे सहभागिता रहेको थियाे।
छनाेट प्रतियोगिताबाट यू-१९ राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमकाे टाेली तयार गरिनेछ।
